काठमाडाैं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधि सभा विघटन गरेर चुनावमा जाने कदम सही भएकाे बताउनु भएकाे छ ।
साेमबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै एमाले सांसद् दाहालले चुनाव जसले गराएपनि गराउनुपर्ने बताउनुभयाे । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने चुनाव निष्पक्ष नहुने हल्ला गरिएकाे बताउँदै सांसद् दाहालले प्रश्न गर्नुभयाे - 'यदि केपी ओलीले गरेकाे चुनाव निष्पक्ष हुँदैन भन्ने लागेकाे हाे भने देउवाले गरेकाे निर्वाचन कसरी निष्पक्ष हुन्छ ?' जनताले पत्ताएका केपी ओली र आधा सिट मात्र जितेका शेरबहादुरले गराएकाे चुनाव विश्वासिलाे हुन्छ ? विचार गराैं ।'
विपक्षी गठबन्धनकाे ध्यान चुनावमा जानेतर्फ नभएकाे उहाँले बताउनुभयाे । निर्वाचन कठिन परीक्षा भएकाे भन्दै उहाँले भन्नुभयाे - 'विपक्षी गठबन्धन भनिएका कसैसँग पनि जनताकाे अदालतमा जाने र जनतासँग फेस गर्ने हिम्मत देखिएकाे छैन, बरु अनधिकृत ढंगले अर्काे पार्टीकाे सांसद्लाई प्रभाव पारेर अर्काे पार्टीकाे अन्तरविराेधलाई प्रभाव पारेर १ वर्ष भएपनि सरकार चलाउला भन्ने हाेला ।'
केही व्यवसायिक वकिलहरुलाई प्रयाेग गरेर सर्वाेच्च अदालतबाट प्रधानमन्त्री बन्ने दाउमा विपक्षी गठबन्धन लागेकाे पनि उहाँले बताउनुभयाे । सांसद् दाहालले विपक्षी गठबन्धनका वकिलहरुले हु इज राष्ट्रपति ? भनेकाेमा असन्तुष्टि जनाउनुभयाे । राष्ट्रपति नै नचिन्ने व्यक्तिहरु सच्चा वकिल हुन नसक्ने दाहालकाे भनाइ छ ।
सरकारले राम्राे काम गरेकाे विपक्षीले देख्नै नसकेकाे बताउँदै दाहालले भन्नुभयाे - 'अचम्मै लाग्छ विपक्षीकाे दृष्टि र श्रव्य कस्ताे ? अनि साेचाइ कस्ताे ? राम्राे गरेकाे देख्दै नदेख्ने, राम्राे बाेलेकाे सुन्दै नसुन्ने र बुझ्दै नबुझ्ने ।'
सरकारले अक्सिजनकाे प्रयाप्त व्यवस्था गरेकाे उहाँले बताउनुभयाे । सरकारले अक्सिजन अभावले ज्यान गुमाउने अवस्था नदिने धेरै काम गरेकाे बताउनुभयाे । सरकारले सबैलाई खाेपकाे व्यवस्था गर्न लागेकाे बताउनुभयाे । 'भाेलिदेखि भेराेसेल लगाएकालाई दाेस्राे डाेज लगाइँदैछ,सरकारले खाेप अभियानलाई निरन्तर अगाडि बढाइँदैछ,यस्ताे कुरामा सरकारलाई धन्यवाद दिनुपर्ने हाेइन र ? तर प्रतिपक्षका माननीय ज्युबाट यस्ताे कुरा सुनिएन'- दाहालले भन्नुभयाे ।
काेभिड १९ र बाढीपहिराे सरकारले नल्याएकाे बताउँदै उहाँले भन्नुभयाे - 'यी दुबै विपत्तिकाे सामना सबै मिलेर गर्नुपर्ने हाेइन र ? तर निषेधाज्ञा ताेड्दै ताेड्दै सरकार विराेधी नारा लगाउने,पुत्ला जलाउँदै हिँड्ने अनि सरकारले काेभिड नियन्त्रण गरेन भन्न मिल्छ र ?'
