काठमाडौं । एमाले सांसद् काेमल वलीले राष्ट्रिय सभा बैठकमा बाँदरकाे कविता सुनाउनुभएकाे छ ।
सोमबार बसेको राष्ट्रिय सभा बैठकमा बाेल्दै सांसद् ओलीले बाँदर प्रवृत्तिका केही नेताहरूलाई संकेत गर्दै बाँदरको कविता सुनाउनु भएकाे हाे । हरेक राम्रा निर्णयहरु अनुभवबाट प्राप्त हुन्छ ती अनुभवहरु गलत निर्णयबाट सिकिने भन्दै अब्दुल कलमकाे भनाइबाट सम्बाेधन थाल्नुभएकी सांसद् ओलीले नेपालकाे गाैरव गाथा पनि सुनाउनुभयाे ।
नेपालका प्राकृतिक जटिबुटी आफैमा एउटा अस्पताल रहेकाे बताउनुभयाे । ३ वर्षमा सरकारले धेरै काम गरेकाे बताउनुभयाे । यसअघिका पूर्व प्रधानमन्त्रीहरुसँग नेपाल बनाउने दृष्टिकाेण नभएकाे टिप्पणी गर्नुभयाे । नेपाली युवालाई खाडीमा बाेरा बाेकाउन याे सरकार दाेषी नभएर यसअघिका सरकार नै दाेषी भएकाे उहाँले बताउनुभयाे ।
केही नेताहरुमा न आफ्नाे घर बनाउने न अर्काकाे घर बनाउन दिने न कसैलाई गर्न दिने न आफू केही गर्ने बाँदर चरित्र देखिएकाे वलीले बताउनुभयाे । कसैकाे नाम नलिइ वाचन गरिएकाे कविता विपक्षी गठबन्धन केन्द्रित थियाे । पछिल्ला घटनाले आफूलाई निक्कै छाेएकाले 'बाँदरको जमात र अमृतपानको सपना' शीर्षककाे कविता काेरेकाे भन्दै काेमल वलीले कविता सुनाउनुभयाे ।
यस्तो छ वलीले सुनाएको कविता :
बाँदरहरूको आफ्नो देश हुँदैन
बाँदरहरूको निश्चित भेस हुँदैन
छेपाराजस्ता मौसमी रंग बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन
कहिले मिलेका छन् कहिले फुटेका छन्
इर्श्याको भट्टीमा आफैलाई भुटेका छन्
आँखाभरी लोभपापको लालसा बोकेर
आजकाल बेवारिसे बाँदरहरू विनाशको मेलाका जुटेका छन्
अलिकति चेतना भएको भए हामी र हाम्रो भन्न सक्थे
हालेको जग बचाएको भए सुन्दर घरवास बन्न सक्थे
आखिर बाँदर न हुन् भोलिको प्रतिक्षा कहाँ गर्छन्
आफ्नै बासमा आगो फुकेर भागाभाग छ आज यिनको
बाँदरहरू खेती गर्दैनन् बाली विनाश गर्छन्
कहिले ढेडुहरूसँग मिल्छन् कहिले गोलानहरूसँग मिल्छन्
कर्मको कुटो नलगाउने यी बाँदरहरू अमृतपान गर्ने सपना देख्छन्
बाँदरहरूको आफ्नो देश हुँदैन
बाँदरहरूको निश्चित भेस हुँदैन
छेपाराजस्ता मौसमी रंग बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन ।
