काठमाडौं । काेभिड विरुद्धकाे खाेप ल्याउन सरकार पूर्ण रुपमा असफल भएकाे आराेप कांग्रेसका राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले लगाउनु भएकाे छ ।
बुधबार बसेकाे राष्ट्रिय सभाकाे विशेष समयमा बाेल्दै उहाँले सरकार खाेप कूटनीतिमा मूलत: असफल भएकाे आराेप लगाउनुभयाे । दक्षिण एसियाका चार देशले अमेरिका र युरोपेली देशको सहयोगमा खोप ल्याइरहेका बेला नेपालले ल्याउन नसकेकाे उहाँले बताउनुभयाे ।
'दक्षिण एसियाको सन्दर्भमा अमेरिकाको सहजीकरणबाट लागि २५ लाख डोज मोर्डेना कम्पनीको खोप बंगलादेश र पाकिस्तानलाई उपलब्ध भएको छ, भुटानलाई डेनमार्क सरकारले कोभ्याक्स सुविधामार्फत २५ लाख खोप पठाउने भएको छ, फाइजर कम्पनीले अमेरिकाको सहयोगमा खोप दिने निर्णय गरेको छ, नेपालसँग नजिक रहेका राष्ट्रहरुबाट किन नेपालले खोप ल्याउँन सकेन ?'- देवकाे प्रश्न छ ।
खाेप ल्याउनका लागि सरकारले प्रतिपक्षीसँग छलफल नगरेकाे आराेप पनि उहाँले लगाउनुभयाे । सरकार कमिसन दलालीले घेरिँदा भारतबाट पैसा तिरेको कोभिसिल्ड खोप पनि नआएको जितेन्द्र नारायणकाे आरोप छ । 'कूटनीतिक वार्ता कसले गर्ने ? राष्ट्रपतिले गर्ने हो ? सरकारको गलत नीतिका कारण अहिले परराष्ट्र मन्त्रालय फेल भइसकेकाे छ, कूटनीतिक फेलका कारण हामीले खोप ल्याउन सकेनौं, यसलाई सरकारले महशुस गर्नुपर्छ, तयार छ कि छैन ?'- उहाँकाे प्रश्न छ ।
राष्ट्रपतिले खाेपका लागि पत्र लेख्नु गलतकाे भएकाे आराेप पनि जितेन्द्र नारायणले लगाउनुभयाे । 'कुनै देशमा राष्ट्रपतिले खोप मागेर पत्र लेखेको सुनिएको छ ? यो बच्चपन कुटनीतिक मूभ हाे, यस्तो काम गर्नु हुँदैन थियो, पत्र लेख्नै पर्ने अवस्था थियो भने प्रधानमन्त्री वा परराष्ट्रमन्त्रीले लेख्नुपर्थ्याे तर, राष्ट्रपतिलाई अघि सार्दै सरकार कूटनीतिक रुपमा असफल सावित भएको छ'- देवले आराेप लगाउनुभयाे ।
सरकारले एक पटक प्रतिपक्षीसँग छलफल गर्नुपर्ने पनि उहाँले बताउनुभयाे ।
