काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा विघटन गरेर जघन्य राजनीति अपराध गर्नुभएकाे आराेप सांसद् रामनारायण बिडारीले आराेप लगाउनुभएकाे छ ।
बुधबार बसेको राष्ट्रिय सभा बैठककाे विशेष समयमा बोल्दै माओवादीका सांसद् बिडारीले एउटै प्रधानमन्त्रीले २-२ पटक प्रतिनिधि सभा विघटन गर्नु घोर अपराध भएको आराेप लगाउनुभयाे ।'एउटै प्रधानमन्त्रीले एउटै प्रतिनिधि सभालाई २-२ पटक विघटन गर्नु भनेको जघन्य राजनीतिक अपराध हो, यस्तो अक्षम्य अपराध संसारका कुनै पनि तानाशाहले गर्दैन, किनकी प्रतिनिधि सभा जनताको सभा हो'-उहाँकाे आराेप छ ।
प्रधानमन्त्रीले भनेअनुसार नभइ संविधानले भनेअनुसार चुनाव हुने उहाँले बताउनुभयाे ।
राष्ट्रपतिले संविधानलाई 'बाँदर'को हातमा नरिवल झैं बनाउनुभएकाे आराेप बिडारीले लगाउनुभयाे । 'राष्ट्रपतिले पटक पटक संविधानको बर्खीलाप गर्नुभयो, उहाँले संविधानलाई कुन्नी केको हातमा नरिवल परेको जस्तो गर्नुभयो ।'
राष्ट्रपतिले संविधान बनुझ्नुभएकाे विडारीकाे आराे प छ । 'संविधानमा 'राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ' मात्रै लेखेको भए, आच्या म त मेरै भाइलाई नियुक्ति गर्छु, संविधानले राष्ट्रपतिलाई पूरा अधिकार दिएको छ, भाइ, छोरीलाई गर्न पाइँदैन भनेर लेख्या छैन भनेर अपव्याख्या गर्न सक्ने राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्ने छ भनेर लेखेको भए मेरो भाइलाई गर्छु भन्नु हुने रहेछ'- बिडारीले भन्नुभयाे ।
संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङकाे नाम नलिइ बिडारीले तत्कालीन संविधान सभा अध्यक्ष हुँदा संविधानको धारा ७६ (५)को उपधारा राख्नुपर्ने कुराको रेकर्ड गायब गराएको आरोप लगाउनुभयाे । पहिलो संविधानसभामा धारा ७६ (५)को उपधाराको व्याख्यात्मक टिप्पणी रहेको भन्दै उहाँले दाेस्रो संविधानसभाको व्याख्यात्मक टिप्पणी खर्लप्प खाएको आरोप लगाउनुभयाे ।
'संविधान सभामा हामीले बनाएका कुरा संविधानको धारा ७६ (५)को उपधारा राख्नुपर्ने कुराको रेकर्ड गायब गराएछ, त्यो गायब गराउने मान्छे त अहिले सत्तासँग च्याप्प गाँसिएर बस्या रहेछन्, संविधानसभाको त्यो रेकर्ड अहिले छैन, व्याख्यात्मक टिप्पणी पहिलो संविधानसभामा थियो, अहिले दोस्रो संविधानसभाको व्याख्यात्मक टिप्पणी खर्लप्प खाएछ, सत्तासँग ठ्याक्कै टाँसिएर मुखमा पानी हालेर बसेको छ, बोल्दैन'- बिडारीकाे आराेप छ ।
