सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाका सदस्यले हराएको भनिएका टीकापुरका तीन वर्षीय बालक विवेक विष्टको अवस्थाका बारेमा सत्यतथ्य पत्ता लगाउन ध्यानाकर्षण गराउनुभएको छ ।
प्रदेशसभाको आजको बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य वीरमान चौधरीले असार २१ गतेदेखि हराइरहेका टीकापुर नगरपालिका–१ का बालक विष्ट कसैको अपहरणमा परेको भन्ने आशंका गरिएको भन्दै बालकको अवस्थाबारे सत्य तथ्य कुरा जानकारी दिन माग गर्नुभयो ।
सदस्य लीलाधर भट्टले बैतडीमा निर्माणाधीन सडकमा काम गर्ने मजदूरले पाउनुपर्ने २१ महिनादेखिको पारिश्रमिक र खप्तड पर्यटन विकास समितिका कर्मचारीले पाउनुपर्ने पारिश्रमिकको भुक्तानी गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
अर्का सदस्य शान्ति नेपालीले बझाङको खप्तडछान्ना गाउँपालिकाकी २९ वर्षीया महिला सुशीला रोकाया माथि कुटपिट गरी हत्या गरिएको पुष्टि भइसकेको भन्दै यो घटनाको छानबिन गरी दोषीमाथि कारवाही र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो ।
बैठकले प्रदेशसभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफल भई तयार पारिएको प्रतिवेदनसहितको ‘सुदूरपश्चिम प्रदेश वातावरण संरक्षण अध्यादेश ०७७’ लाई प्रतिस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले उक्त विधेयक सभाबाट पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो । यसअघि उक्त विधेयक माथि भएको छलफलमा सदस्य बलबहादुर सोडारी, वीरमान चौधरी, मालामति रानाथारु र गोविन्दराज बोहराले भाग लिनुभएको थियो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’लाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भनी पेश गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
मन्त्री जोशीले प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसभा समक्ष टेबुल गर्नुभएको थियो ।
–रासस
