काठमाडाैं । एमाले कर्णाली प्रदेश सभा सदस्य दल रावलले आफ्नाे पार्टीमाथि ढुंगा हान्न खाेजिएकाे बताउनुभएकाे छ ।
बिहीबार बसेकाे कर्णाली प्रदेश सभा बैठककाे सुरुमै बाेल्लै सांसद् रावलले भन्नुभयाे - 'स्वभाविक रुपमा फलेकाे वृक्षमाथि सबैले ढंगा हान्छन्, आज जनताको प्यारो पार्टी नेकपा एमालेमाथि देशव्यापी ढंगले देशमा मात्र हाेइन राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिले ढुंगा हान्ने गरेका छन् ।'
नेकपा एमालले तीन वटा राजमार्ग सम्पन्न गर्न लागेकाले एमालेमाथि ढुंगा हान्न खाेजिएकाे रावलले बताउनुभयाे । माथिल्लाे तामाकाेशी जस्ता कैयाैं आयाेजना केपी शर्मा ओली सरकारले पूरा गरिरहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'माधव नेपाल प्रधानमन्त्री हुँदा याेजना बनाएका, झलनाथ खनाल प्रधानमन्त्री हुँदा उद्घाटन गरिएका र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सम्पन्न गरिएका थुप्रै आयाेजना देशकाे राष्ट्रिय पुँजी निर्माण गर्नका लागि नेकपा एमालेले नेतृत्व गरेका थुप्रै परियाेजना अगाडि बढ्दै छन् ।'
३ वटा विमानस्थल बनाएकाे र मनमाेहन अधिकारी सरकारले सुरु गरेकाे ८ सय भत्ताबाट केपी ओली सरकारसम्म पुग्दा ४ हजार पुर्याएकाे जस्ता तमाम राम्रा कामबाट आत्तिएर एमालेकाे वृक्षमाथि ढुंगा हान्न खाेजिएकाे उहाँले बताउनुभयाे । 'लाेकतन्त्रलाई बलियाे बनाउनेगरी आफ्नाे शासनका प्रक्रिया अगाडि बढाएकाे छ,यसतर्फ राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्ति एमालेलाई कसरी ढाल्न सकिन्छ भनेर ढुंगा हान्ने प्रयत्नमा छन्,छुट्टाछुट्टै ढुंगा हान्दा फल झरेन भनेर तमाम ढुंगाहरु एकै ठाउँमा जम्मा पारेर एउटै ढुंगाले हान्ने प्रवृत्ति पनि अगाडि बढेकाे छ, तर नेपाली जनता लाेकप्रिय पार्टीले ल्याएकाे कामबाट प्रभावित छन्,त्यसैले ढुंगा खाेसेर फल झार्न दिँदैनन्'- रावलकाे भनाइ छ ।
एमालेमाथि कर्णाली मात्र नभएर देशैभर आक्रमण गर्ने प्रयास जारी रहेकाे बताउनुभयाे ।
राेम जलिरहेछ निराे बासुरी बजाइरहेछ भनेझै आफ्नाे बैधता गुमाएकाे कर्णाली प्रदेश सरकार बजेटबाट बेखबर भएकाे उहाँले बताउनुभयाे । नेकपा एमालेले लाेकतान्त्रिक, वैधानिक र राजनीतिक ढंगले उठाएकाे मुद्दालाई प्रदेश सरकारले वेवास्ता गरेकाे सांसद् रावलले बताउनुभयाे । सदनलाई समेत वेवास्ता गरेर सरकार अगाडि बढिरहेकाे सांसद् रावलले बताउनुभयाे ।
असार १ गते प्रस्तुत भएकाे बजेटमाथि असार २४ सम्म पनि छलफल हुन नसकेकाे भन्दै उहाँले असन्तुष्टि जनाउँदै उहाँले भन्नुभयाे - ' याे सरकार बजेटप्रति उत्तरदायी छैन, जनताप्रति उत्तरदायी छैन भन्ने प्रमाण राखिरहेकाे छ, असार महिना किसानका लागि महत्वपूर्ण भएजस्तै आर्थिक सामाजिक विकास र आर्थिक रुपान्तरणका लागि बजेटकाे त्यत्तिकै महत्व छ तर त्यतातिर सरकारकाे ध्यान छैन ।'
नेकपा एमालेले वैधानिक रुपमा उठाएकाे मुद्दा समाधान नभएकाे भन्दै सभामुखकाे ध्यानाकर्षण गराउनुभयाे । लाेकतन्त्रमा प्रश्न राख्न पाइने भएकाले साेही अनुसार नेकपा एमालेले प्रदेश सभामा राजनीतिक प्रश्न राखेकाे तर सुनुवाइ नभएकाे उहाँले बताउनुभयाे । सांसद् रावलले भन्नुभयाे - 'नेकपा एमालेले वैज्ञानिक, लाेकतान्त्रिक र नैतिक ढंगले आफ्नाे प्रश्न उठाउँदै आएकाे छ, विशेषगरी याे राजनीतिक प्रश्न हाे, संवैधानिक प्रश्न पनि हाे तर सरकारले यसकाे सुनुवाइ गर्न सकेकाे छैन ।'
१८ जना सांसद् भएका २ दलले अल्पमतकाे सरकार चलाउनु लज्जाजनक भएकाे उहाँले बताउनुभयाे । लाेकतन्त्र भएकाे बहुमतले अल्पमतमाथि शासन गर्ने प्रक्रिया भएकाे बताउँदै सांसद् रावलले भन्नुभयाे - 'प्रदेश सभामा ४० मध्ये २० सिट एमालेकाे छ, १८ सिट भएका २ दलले सरकार सञ्चालन गरिरहेका छन्, नैतिक, लोकतान्त्रिक र वैधानिक रुपमा यो कत्तिको सत्य हो ?' कर्णालीको अन्तराष्ट्रिय स्तरमा छवी विग्रनेगरी अगाडि नबढ्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । प्रश्नकाे उत्तर नदिएसम्म प्रदेश सभा बैठक चल्न नदिइने उहाँले बताउनुभयाे ।
रावलकाे सम्बाेधनपछि पनि प्रतिपक्षी एमालेका सांसद् उभिरहे । सभामुखले आसनग्रहण गर्न अनुरोध गर्दा पनि एमाले सांसद् बसेनन् । त्यसपछि सभामुख शाहीले असार २७ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गर्नुभयाे ।
