काठमाडाैं । प्रदेश-१ काे आगामी आर्थिक वर्ष ०७८-७९ काे बजेट (विनियोजन विधेयक) बहुमतले पारित भएकाे छ ।
शुक्रबार बसेकाे प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले प्रदेश विनियोजन विधेयक २०७८ पारित गरियोस् भनी प्रस्ताव गर्नुभएकाे थियाे । त्यसपछि सभामुख प्रदिपकुमार भण्डारीले सदनमा निर्णयार्थ प्रस्तुत गर्नुभएकाे बजेट प्रदेश सभाले बहुमतले पारित गरेकाे हो ।
प्रदेश सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रले खर्च कटौतीको दुई छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएकोमा खर्च कटौतीको दुवै प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । त्यसअघि आजै बजेटमा उल्लेख भएको मन्त्रालयगत विनियोजनमाथिको छलफल भएकाे थियाे ।
मुख्यमन्त्री शेरधन राईले विनियोजन विधेयकमाथिको सांसद्हरुले उठाएका प्रश्न र जिज्ञासाकाे जवाफ दिनुभएकाे थियाे ।
मन्त्री आङ्बुहाङले असार १ गते आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाखको अनुमानित बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएकाे थियाे । बजेटमा चालु खर्च १४ अर्ब १६ करोड १५ लाख र पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख छुट्याइएको छ ।
