काठमाडौं । गण्डकी प्रदेशमा सरकारले आर्थिक वर्षको अन्त्यमा ठूलो रकम रकमान्तरण गरेपछि नेकपा एमालेले प्रदेश सभा बैठकमा विरोध जनाएको छ ।
आइतबार प्रदेश सभा बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद् सिटबाट उठ्नु भएको थियो । त्यस पछि सभामुखले एमाले सांसद् रामशरण बस्नेतलाई बोल्ने समय दिनुभएको थियो ।
बैठकमा बोल्दै सांसद् बस्नेतले असारको २३ गते सरकारले करोडौँ रुपैँया रकमान्तरण गरेको बताउनुभयो । उहाँले सो विनियोजन नीति र विधि विपरित भएको बताउनुभयो ।
रकमान्तरण गरिएका बजेट कसरको सिफारिसमा विनियोजन गरिएको हो भन्ने जवाफ संसद्लाई दिनु पर्ने उहाँले माग गर्नुभयो । ‘सबै कुरा नआएसम्म संसद्को बैठक अघि बढाउन सकिँदैन’, उहाँले भन्नुभयो ।
उहाँले सरकारले रकमान्तरण गरी कार्यकर्ता पोस्न बजेट छुट्याएको घटनाको सर्वदलीय छानविन गर्न माग गर्नुभयो ।
प्रतिपक्षी दलका सांसद्ले कुरा राखेपछि बस्नलाई सभामुखले आग्रह गरेपनि एमाले सांसद्ले उठेर विरोध जनाए पछि आज एक बजेसम्मको लागि बैठक स्थगित गरिएको छ ।
गत असार १ गते प्रदेश सरकाले बजेट ल्याएको थियो । सो बजेट माथि छलफल गर्न आजको बैठक बोलाइएको हो ।
गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको एमाले सरकाराई हटाएर नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा गठबन्धन सरकार बनेको छ । पार्टी र गठबन्धन भित्रको विवादको कारण मुख्यमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्न समेत सक्नु भएको छैन । उहाँले नियुक्ति गर्नुभएका चार मध्ये दुई जना मन्त्रीलाई समेत मन्त्रालयको जिम्मेवारी तोक्न सक्नु भएको छैन ।
