काठमाडाैं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभाकाे सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्नुपर्ने बताउनु भएकाे छ ।
आइतबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै एमाले सांसद् गाैतमले राष्ट्रिय सभाको सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था आवश्यक रहेको बताउनुभयाे ।प्रतिनिधि सभा र राष्ट्रिय सभाबीचको विभेद हटाउनका लागि संविधान संशोधन गरेर भएपनि राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने व्यवस्था राख्नुपर्ने उहाँकाे भनाइ छ ।
नेपालको संविधानमा प्रतिनिधि सभाको सदस्यमात्र प्रधानमन्त्री बन्न पाउने व्यवस्था छ । नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका सांसद् गाैतमले त्यसलाई संशोधन गर्नुपर्ने बताउनुभयाे ।
'मैले पोहोर साल एउटा विषय उठाएको थिएँ, मलाई प्रधानमन्त्री अध्यक्ष कमरेडले कुनै ठाउँबाट निर्वाचन लड्न भन्नुभयो, मैले मानिनँ, त्यसो भए राष्ट्रिय सभामा उठ्नुस् भन्नुभयाे मैले उठ्दिनँ भनें ।' उठ्दिनँ भन्नुकाे कारण समेत खुलाउँदै वामदेवले भन्नुभयाे - 'किन उठ्नुहुन्न ? भन्नुभयो मैले भनेँ राष्ट्रिय सभा र प्रतिनिधि सभाबीचको विभेद अन्त्य गरिदिनुस्, प्रधानमन्त्रीले कसरी हुन्छ विभेद अन्त्य भनेर सोध्नुभयाे ? मैले भनेँ राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था राख्नुस् ।'
यही कुरा उठाउँदा आफ्नाे चरित्र हत्या भएकाे बताउँदै वामदेवकाे भन्नुभयाे - 'म अझ फेरि पनि उठाउन चाहन्छु- यदि राष्ट्रिय सभाको यो हलले मैले भनेको प्रस्ताव मञ्जुर गर्छ भने हामी पास गरौं ।'
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८-०८९ को बजेट राष्ट्रिय सभामा पेस गर्नुपर्ने समेत वामदेवले बताउनुभयो । नियमावली परिवर्तन गरेर भए पनि राष्ट्रिय सभाबाट बजेट पारित गर्नुपर्ने व्यवस्था राख्नुपर्ने उहाँकाे माग छ ।
