काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नागरिकको जीवन रक्षा प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।
सरकारको बजेट तथा कार्यक्रम माथि प्रदेश सभा बैठकमा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारले स्वास्थ्यसँगै अन्य क्षेत्रको विकासको लागि पनि त्यतिकै प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात वाहेक अरु मन्त्रालयका योजना परिवर्तन नगरिएको बताउनुभयो । ती मन्त्रालयमा अघिल्लो सरकारले ल्याएका कार्यक्रमलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । भौतिकमा दायित्व सिर्जना भएका बहुवर्षे योजना लगायतका कार्यक्रमले निरन्तरता पाएको उहाँले सभालाई जानकारी दिनुभयो । असार लाग्दा नलाग्दै प्रदेशभर बाढी पहिरोको प्रभाव परेकोले बाढी, पहिरोको प्रभावित क्षेत्रका अलावा छोटो समयमा हुने विकास निर्माणका कामका लागि साढे ११ करोड ७३ लाख रुपैँयाका कार्यक्रम तय गरिएको उहाँले जानकारी दिनुभयो ।
रकमान्तरलाई भ्रष्टाचार र अनियमिततासँग जोडिएकोमा आफूले गम्भीर रुपमा सोच्न वाध्य भएको उहाँले बताउनुभयो । आफू सँधै सुशासनको पक्षमा रहेको आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनुभएका पोखरेलले बताउनुभयो ।
