काठमाडौं । गण्डकी प्रदेश सभाको बुधबारको बैठक पनि स्थगित भएको छ । प्रदेश सभा बैठक एकै दिन दुई पटक स्थगित भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाएपछि बुधबारको बैठक स्थगित भएको हो । बैठक सुरु हुने बित्तिकै एमालेका सांसद्ले उठेर विरोध जनाएपछि एमाले सांसद् रामशरण बस्नेतलाई सभामुखले बोल्ने समय दिनुभएको थियो ।
बैठकमा बोल्दै सांसद् बस्नेतले बिहान मात्रै एमाले संसदीय दलको तर्फबाट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको स्मरण गराउँदै त्यस विषयमा मुख्यमन्त्रीले उत्तर दिने बताए पनि एमाले संसदीय दललाई कुनै सूचना नदिएको बताउनुभयो ।
बजेटमा आएको कुरा सुधारको लागि एमालेले १० बुँदे सुझाव दिएको बताउँदै उहाँले के आधारमा योजना छनोट भएका छन् ? भन्दै प्रश्न गर्नुभयो । अहिले सरकारले गरेको बजेट विनियोजन विवेकहीन तरिकाको भएको उहाँले बताउनुभयो ।
एकलाख देखि २० लाख सम्मका साना योजना थपेर ठूला योजनामा बजेट कटौती गरिएको उहाँले बताउनुभयो । एउटा जिल्लालाई १ सय १९ वटासम्म योजना र कुनै एउटा जिल्लालाई पाँचवटा मात्र योजना दिएको भन्दै त्यस्तो वितरण प्रणाली न्यायोचित नभएको उहाँले बताउनुभयो ।
सांसद् बस्नेतले बोलिसकेपछि सभामुखले सहमतिका साथ बैठकमा आउनको लागि आधा घण्टाको समय तोक्नु भएको थियो । त्यस पछि बसेको बैठकमा पनि एमाले सांसदले उभिएर विरोध जनाएपछि सभामुखले पुन बैठक स्थगित गर्नुभएको छ ।
यसअघि असार २७ र २८ गते बसेको बैठक पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो ।
