काठमाडौं । गण्डकी प्रदेश सरकारले प्रदेश सभामा बलमिच्याईँ सुरु गरेको छ ।
प्रदेश सभा बैठकमा सरकारले प्रमुख प्रतिपक्षी दलको नाराबाजीकै बीचमा बजेट तथा कार्यक्रम पारित गरेको छ ।
बुधबार बसेको प्रदेश सभाको तेस्रो पटकको बैठकमा आर्थिक मामिला मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेले प्रतिपक्षीको विरोधको वावजुत प्रदेश सभा बैठकमा प्रवेश गरी रोष्टममा पुग्नु भएको थियो । उहाँलाई रोष्टममा जान रोक्ने क्रममा सभा हलभित्र धकेला धकेल भएको थियो ।
बुधबार दुई पटकसम्म बसेको बैठक प्रतिपक्ष दल एमालेका सांसदले उठेर विरोध जनाएपछि स्थगित भएको थियो । तर तेस्रो पटकको बैठकमा भने सरकार पक्षले जवरजस्ती गरेको थियो ।
बैठक सुरु हुने बित्तिकै एमाले सांसदले विरोध जनाएका थिए । तर विरोधका बीचमा नै आर्थिक वर्ष २०७८÷७९ को बजेट पारित भएको घोषणा गरिएको थियो । होहल्ला र नाराबाजीका बीच बजेट पारित भएको घोषणा बैठकमा गरिएको थियो ।
