काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफू विश्वासको मत लिन तयार रहेको बताउनुभएको छ ।
विश्वासको मत लिने प्रक्रियाको पछाडि पर्ने प्रभावको बारेमा तयार हुन उहाँले विपक्षी दलका नेतालाई आग्रह गर्नुभयो । सर्वोच्च अदालत र निर्वाचन अयोगमा विचाराधीन विषय टुंगो नलागी विश्वासको मत लिने प्रक्रियामा जाँदा प्रदेश सभा निर्वाचनमा जाने भएकोले यस प्रति सबैलाई गम्भीर हुन आग्रह गर्नुभयो ।
अहिलेको सरकार संविधानको धारा १६८ को १ अन्तर्गत रहेको उहाँले बताउनुभयो । विश्वसाको मत लिँदा उपधारा २ अनुसार नभए ३ मा जाने बताउनुभयो । उपधारा ३ अनुसारको सरकार बनाउन आफूलाई इच्छा नभए पनि संविधानतः त्यसमा जानै पर्ने उहाँले बताउनुभयो ।
त्यस पछि उपधारा ५ मा गएर चुनावमा जानुपर्ने उहाँले बताउनुभयो । अहिले चुनावमा गइहाल्ने कुरामा आफूलाई पनि रहर नभएको उहाँले बताउनुभयो । ‘सत्ताको खेलको नाममा जे सुकै होस् भन्ने हो भने हामीले प्राप्त गरेको यो उपलब्धि हेर्दा हेर्दै गुम्नेवाला छ’, पोखरेलले भन्नुभयो ।
उहाँले बजेटमाथि एकपटक छलफल गर्न आग्रह गर्नुभयो । उहाँले बजेटलाई पास गरेर सहयोग गर्न प्रतिपक्षी दललाई आग्रह गर्नुभयो । तर प्रतिपक्षी दलले सरकार बहुमतमा नरहेको भन्दै सरकारले विश्वासको मत लिनु पर्ने कुरा दोहोर्याएका थिए ।
बजेटका बारेमा थप छलफल नगर्ने भन्दै प्रतिपक्षीले बजेट पास गर्ने कुरालाई प्रक्रियामा लैजान प्रस्ताव गरेपछि सत्ता पक्षका सांसदले बैठक बहिस्कार गरेका थिए । त्यस पछि सभामुखले आधा घण्टाको लागि बैठक स्थगित गर्नुभएको थियो ।
