काठमाडौं । राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेलले जनादेशबाट बनेको सरकारलाई संसदबाट होइन संविधानको अपव्याख्या गरी अदालतको परमादेशबाट हटाइएको बताउनुभएको छ ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै उहाँले बहुदलीय शासन प्रणालीमा यसलाई सामान्य मान्न नसकिने बताउनुभयो ।
उहाँले अदालतको पछिल्लो फैसलाले दलीय व्यवस्थाको मूल मर्म माथि नै प्रहार गरेको बताउनुभयो । बहुदलीय शासन व्यवस्था दलको ह्वीप नलाग्ने फैसलाले कालान्तरमा बहुदलीय शासन व्यवस्था अन्त्य गरी निर्दलीय व्यवस्थाको विजारोपण गरिएको उहाँले बताउनुभयो ।
सत्ता प्राप्तिको क्षणिक स्वार्थले केही व्यक्तिलाई फाइदा पुग्ने भए पनि यो फैसलाले प्राप्त उपलब्धि गुम्न सक्ने उहाँले बताउनुभयो । ‘अहिले मडारिएको कालो बादलले सबैको सत्यानास पार्ने छ’, उहाँले भन्नुभयो ।
अदालतको फैसला संविधानको मर्म विपरित भए पनि कानुनी राज मान्ने पार्टीको हैसियतले नेकपा एमालेले फैसला कार्यान्वयनमा लगेको उहाँले बताउनुभयो । केपी ओली नेतृत्वको सरकारलाई जनादेशबाट नभएर परमादेशबाट हटाइएको उहाँले बताउनुभयो ।
केपी ओली नेतृत्वको सरकारले छोटो समयमा चौतर्फी घेराबन्दीको बिचमा उल्लेख्य काम गरेको उहाँले दाबी गर्नुभयो ।
