काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दलको प्रतिनिधित्वबाट नेपालको संविधान निर्माण भएको बताउनुभएको छ । ।
प्रतिनिधि सभामा आइतबार विश्वासको मत माग्दै उहाँले सबैको प्रयासबाट संघीय लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको बताउनुभयो ।
सबै राजनीतिक दल र नेपालीका केही साझा चुनौती, उद्देश्य र गन्तव्य रहेको उहाँले बताउनुभयो । ‘कोभिड हामी सबैको साझा चुनौती छ, नेपालको स्वतन्त्रता, स्वाधिनता हामी सबैको साझ चुनौती हुन्, यसका लागि सहकार्य र सहयात्रा आवश्यक छ’, देउवाले भन्नुभयो ।
केपी शर्मा ओलीले विगत साढे तीन वर्ष सरकारको नेतृत्व गर्नुभएको बताउँदै उहाँले यस बीचमा उहाँले गर्नुभएका राम्रा कामको लागि धन्यवाद दिनुभयो । विगतमा उहाँले गर्नुभएका अनुभव र भएका कमी कमजोरीलाई सुधार गर्दै लैजाने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
राजनीतिक दलहरु एक आपसका शत्रु नभएको उहाँले प्रष्ट पार्नुभयो । ‘बरु हाम्रा साझा उद्देश्यको लागि सहयात्री हौँ भन्ने भावनाका साथ काम गर्नुपर्दछ’, उहाँले भन्नुभयो ।
विश्वासको मत लिनको लागि प्रतिनिधि सभा समक्ष प्रस्तुत भएको बताउँदै उहाँले सबै सदस्यले विश्वासको मत दिनुहुन्छ भन्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
