काठमाडाैं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आफूहरुकाे चिन्ता प्रणाली भत्किएकाेमा रहेकाे बताउनु भएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा विश्वासकाे प्रस्तावमाथिकाे छलफलमा बाेल्दै प्रवक्ता ज्ञवालीले को सत्तामा गयो कि गएन भन्ने कुराले केही फरक नपर्ने बताउनुभयाे । प्रतिपक्षमा रहनु सामान्य विषय भएकाे पनि प्रवक्ता ज्ञवालीले प्रष्ट पार्नुभयाे ।
उहाँले भन्नुभयाे - ' प्रश्न काे सत्तामा गयाे गएन भन्ने हाे, प्रश्न गेम फेयर भयाे कि भएन भन्नेमा हाे, प्रणालीमा भत्किएकाेमा चिन्ता हाे, संसद्मा दलीय विभाजनले गर्दा जुन समस्या हिजो भोगिएको थियो, त्यो अहिले पनि कायम छ, आज एमाले प्रतिपक्षमा बस्न परेको भएर मैले यो भनेको होइन, हामी ३६ वर्ष प्रतिबन्धित थियौँ, भूमिगत थियौँ, २००६ सालमा जन्मिएको पार्टीलाई नेपाली कांग्रेसको सरकारले समेत प्रतिबन्ध लगाएको थियो, विपक्षमा रहनु हाम्रा लागि सामान्य विषय हो ।'
तीन तीन पटक दलीय विभाजनको शिकार भएका शेरबहादुर देउवा फेरि संविधानको धारा ७६(५) को अपव्याख्या गरेर जस्केलाबाट छिरेर प्रधानमन्त्री हुनुभएको ज्ञवालीकाे भनाइ छ । पहिलो पटक संसद विघटनदेखि उहाँको पार्टी (कांग्रेस) विभाजनको शिकार भएको इतिहासकाे उदाहरण दिँदै देउवाकाे विगत स्मरण गराउनुभयाे ।
शेरबहादुर देउवा एकपटक गृहमन्त्री र दुईपटक प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसकै सांसदका कारण सरकार ढलेको इतिहास उहाँले सुनाउनुभयाे । इतिहास दुईचोटी दोहोरिने भन्दै उहाँले भन्नुभयाे - 'पहिलो दुखान्तका रुपमा र दोस्रोचोटी विद्रुप भएर अर्थात प्रहसनका रुपमा, आज कता कता मलाई त्यो इतिहासको स्मरण भइरहेको छ,०४८ पछि बनेको सरकारमा गृहमन्त्री हुनुहुनुथ्यो, ०५१ मा प्रधानमन्त्री गिरिजाप्रसfद कोइरालाले सरकारको नीति तथा कार्यक्रममा मतदान हुने क्रममा नेपाली कांग्रेसकै ३६ जना सांसद् अनुपस्थित हुनुभयो र त्यो सरकार ढल्यो ।'
नेपालको संसदीय इतिहासमा दलभित्रको असहयोग या दलीय विभाजनले निम्त्याएको पहिलो घटनाको साक्षी सम्मानीय शेरबहादुर आफैं हुनुभएकाे पनि ज्ञवालीले स्मरण गराउनुभयाे । 'दोस्रो ०५३ मा फागुनमा उहाँ मनमोहन अधिकारीको लोकप्रिय सरकारलाई ढालेर उहाँ प्रधानमन्त्री हुनुभयो र अहिलेको जस्तै संसदमा विश्वासको मत माग्नुभयो, तर उहाँकै पार्टीका दुईजना सांसद चक्रबहादुरी शाही र दीपकजंग शाही अनुपस्थित हुनुभयो र उहाँको सरकार ढल्यो, ०५९ सालमा उहाँ फेरि प्रधानमन्त्री हुनुहुन्थ्यो, संसदमा संकटकाललाई निरन्तरता दिने कि नदिने भन्नेबारेमा छलफल चल्दै थियो, पार्टीबाट असहयोग हुन्छ भन्ने थाहा पाएपछि उहाँले संसद विघटन गर्नुभयो, त्यसपछि चुनाव गर्न नसकेको भन्दै तत्कालीन राजा ज्ञानेन्द्रले उहाँलाई अक्षम घोषणा गरेर अपदस्त गर्नुभयो, तीन तीन पटक दलीय विभाजनको शिकार भएरका माननीय शेरबहादुर देउवा फेरि संविधानको धारा ७६(५)को अपव्याख्या गरेर जस्केलाबाट छिरेर प्रधानमन्त्री हुनुभएको छ ।'
सर्वाेच्चकाे फैसलाले मुलुककाे प्रणाली भत्काउने लगायत काम भएकाे भन्दै उहाँले प्रश्न गर्नुभयाे - 'संविधानकाे धारा ७६ काे ५ संविधानले निर्दलीय अभ्यास गर्ने छुट दिन्छ ? यसले एकछिन सन्चाे भएकाे हाेला, म रेकर्ड गराउन चाहान्छु नेपालकाे लाेकतन्त्रका लागि क्राेनिक बन्नेछ, क्यानसर बन्नेछ ।'
विगतमा धेरै पटक आफूहरु कमब्याक गरिएकाे भन्दै उहाँले फेरि पनि आफूहरु सानदार कमब्याक हुने बताउनुभयाे । मनमोहन अधिकारी ९ महिना मात्र प्रधानमन्त्री भए पनि अहिले पनि जनताकाे मनमनमा रहनुभएकाे बताउनुभयाे । नेकपा एमाले फेरि कमब्याक गर्ने उहाँले प्रष्ट पार्नुभयाे ।
प्रधानमन्त्री बनेपछि शेरबहादुरले राजाबाट न्याय पाएकाे सुनाउनुभएकाे स्मरण गर्दै ज्ञवालीले भन्नुभयाे - '०६१ मा राजा ज्ञानेन्द्रले माननीय देउवाजीलाई प्रधानमन्त्री नियुक्त गर्नुभयो, अनि देउवाजीले त्यो बेला भन्नुभएको थियो श्री ५ सरकारबाट मलाई न्याय भयो, अहिले फेरि उहाँ पाँच जना श्रीमानहरूको आदेशबाट प्रधानमन्त्री हुनुभएको छ, पहिला श्री ५ र अहिले श्रीमान् ५ ।' जहाँ फल हुन्छ त्यहाँबाट 'फ्रि किक' दिनुपर्नेमा रेफ्रिले आफै गाेल गरिदिएकाे टिप्पणी गर्नुभयाे ।
