काठमाडौं । सर्वाेच्च अदालतले गरेको निर्दलीयताको फैसलाको आडमा पार्टीलाई गद्दारी गर्ने, देउवालाई विश्वासको मत दिने र धेरैभन्दा धेरै मन्त्री पद हात पार्ने माधव गुटको योजनामा ठूलो धक्का लागेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने बेलामा जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले देउवालाई समर्थन गरेको छ । महन्थ खेमाको समर्थनसँगै देउवालाई पूर्ण बहुमत मिलेको छ ।
यस अघिसम्म देउवाले माधव नेपाल गुटको भर पर्नुपरेको थियो । जसपाको महन्थ खेमा विपक्षमा रहेको बेला माधव गुटले समर्थन नगरेको भए देउवाले विश्वासको मत पाउन सम्भव हुँदैनथ्यो । अर्थात्, विश्वासको मतको चाबी माधव नेपालको गुटको हातमा थियो ।
जसपाको महन्त खेमाले समर्थन गरेपछि देउवालाई माधव गुटको समर्थन नभए पनि हुने भयो । माधव गुटले यो अवस्था आउने कल्पनै गरेको थिएन । आफूहरु बिना देउवाले विश्वासको मत पाउन सक्दैनन् भन्ने विश्वाससाथ माधव गुट चलिरहेको थियो । त्यही अनुसार मन्त्रिमण्डलमा असाध्यै ठूलो भाग पनि माग्न थालेको थियो ।
अब पासा पल्टिएको छ । माधव गुट बिनै बहुमत पुग्ने भएपछि त्यसको असर मन्त्रिमण्डलको बनोटमा पनि पर्ने भएको छ ।
यो समाचार तयार पार्दासम्म माधव गुटतिर लागेर एमालेलाई गद्दारी गर्ने सांसद्को संख्या २० भन्दा धेरै नहुने देखिएको छ । अर्थात्, ३४ सदस्यीय जसपाभन्दा धेरै सानो आकार माधव गुटको हुनेछ ।
आगामी दिनमा मन्त्रिमण्डलमा भागवण्डा हुँदा माधव गुटले जसपाभन्दा थोरै सिट पाउनेछ । आफ्ना कारणले देउवाले विश्वासको मत पाएको भन्दै अझै धेरै वार्गेनिङ गर्ने माधव गुटको योजना थियो । तर, अब वार्गेनिङ गरेकै भरमा देउवाले हैसियतभन्दा ठूलो र धेरै भाग नदिने निश्चित भएको छ ।
