काठमाडाैं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वाेच्चकाे फैसलाले भाेलि ठूलै दुर्घटना निम्ताउने बताउनु भएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा विश्वासकाे मतसम्बन्धी प्रस्तावमाथि बाेल्दै एमाले प्रवक्ता ज्ञवालीले सर्वाेच्चकाे फैसलाले तत्काल कसैलाई सञ्चो भए पनि भविष्यमा क्रोनिक हुने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'हामीलाई एकछिन सन्चाे भएकाे हाेला, म रेकर्ड गराउन चाहान्छु नेपालकाे लाेकतन्त्रका लागि क्राेनिक बन्नेछ, क्यानसर बन्नेछ ।' केही मानिस तलमाथि पर्दैमा केही फरक नपर्ने पनि उहाँले बताउनुभयाे ।
निर्वाचनमा जाने कुरालाई अलोकतान्त्रिक भनिएकाे भन्दै उहाँले देउवा सरकारले जनताको नासो राजामा बुझाएको स्मरण गराउनुभयाे । ज्ञवालीले भन्नुभयाे - 'संविधान अक्षर मात्र हाेइन ।' संविधानको ७६ (५) को व्याख्याप्रति आपत्ति जनाउँदै उहाँले निर्दलीय व्यवस्थातर्फ जाने छुट संविधानले नदिइएको बताउनुभयाे । ७६ (५) अनुसार बनेको सरकारलाई विश्वासको मत दिँदा ह्वीप नलाग्ने व्यवस्थाले धेरै गम्भीर प्रश्न उत्पन्न भएका बताउनुभयाे । सरकारबाट बाहिरिनुमा प्रश्न नउठाएकाे उहाँले स्पष्ट पार्नुभयाे ।
अप्रिय लागे पनि अदालतको फैसला आफूहरूले मान्ने तर शक्ति पृथकीकरणको राज्यको परिकल्पनामा खलल पर्न गएको उहाँकाे भनाइ छ । पहिला पनि लामाे समय प्रतिपक्षमा बसेकाे र अब पनि बस्न तयार रहेकाे बताउँदै उहाँले आफूहरुका लागि सर्वाेच्च अदालत भनेकै जनता भएका उहाँले प्रष्ट पार्नुभयाे । प्रवक्ता ज्ञवालीले भन्नुभयाे - 'हाम्रा निम्ति जनता सर्वाेच्च भगवान हुन्, जनताकाे विश्वास भएसम्म हामीलाई कसैले बहिर्गमीत गर्न सक्नेछैन ।'
काेभिडकाे खाेप लगाउँदा, माथिल्लाे तामाकाेशीकाे बिजुली बाल्दा, मेलम्चीकाे धारा खाेल्दा, कहिल्यैपनि नाकाबन्दी सामना गर्न नपर्दा सरकारले आफूहरुलाई सम्झिने उहाँले बताउनुभयाे ।
