काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सम्मान नपुगेको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रचण्डले आफू आगो भएको बताउनुभयो । माओवादी केही पनि होइन यसलाई मिचिदिए हुन्छ भन्ने ठानेर आफूलाई हेपेको उहाँले बताउनुभयो । ‘आगोसँग खेल्ने काम त्यतिराम्रो हुँदैन, यदि तपाईले यसलाई हेप्न खोज्नुभयो भने आगो फेरि बल्न सक्छ’, प्रचण्डले भन्नुभयो ।
अहिलेको संविधान विगतको संविधान भन्दा अलग भएको उहाँले बताउनुभयो । बैठकमा बोल्दै शान्ति सम्झौता पछि बनेको संविधानको धारा ७६ (५) प्रतिनिधि सभालाई दिएको विशेषाधिकार भएको उहाँले बताउनुभयो । उहाँले आफूहरुले बुझेरै संविधानको सो उपधारा राखेको बताउनुभयो ।
अहिले बनेको शेरबहादुर देउवाको सरकारलाई कुनै पनि प्रतिनिधि सभा सदस्यलाई मतदान गर्ने अधिकार भएको उहाँले बताउनुभयो । संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालत हुने भएकोले अदालतले गरेको व्याख्या सबैले मान्नुपर्ने उहाँले बताउनुभयो । उहाँले सवोच्च अदालतलाई आधार सहित धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले शेरबहादुर देउवालाई अदालतले नियुक्ति गरेको नभइ संविधानको व्याख्या मात्र गरेको बताउनुभयो । ‘प्रतिपक्षी साथीहरुलाई निर्दलीय हुने भयो भन्ने चिन्ता, किन चिन्ता ?’, प्रचण्डले भन्नुभयो ।
माओवादीलाई लोकन्तन्त्रको कुरा नै गर्न नदिएको भन्दै उहाँले एमालेको आलोचना गर्नुभयो । सात राजनीतिक दल एकातिर माओवादी एकातिर भएर गरेको सम्झौतालई सम्मान गर्न नसकेको उहाँले बताउनुभयो । आफूहरुलाई सम्मान गर्नु पर्नेमा अपमान गरिएको प्रचण्डको भनाइ थियो ।
उहाँले प्रतिपक्षी दलका सांसदलाई पनि सरकारको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले प्रतिनिधि सभा पुनस्थापित भएकोमा धेरै सांसद्लाई आनन्द भएको बताउनुभयो ।
