काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको अनुमति बिना राजनीतिक बन्दीको मुद्दा फिर्ता लिन नसकिने बताउनुभएको छ ।
प्रतिनिधि सभामा विश्वासको मत मागेपछि सांसद्हरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले राजनीतिक बन्दीलाई थुनामा राखेर समस्या समाधान नहुने भएपनि आफूले चाहँदैमा राजनीतिक बन्दीलाई छुटाउन नसक्ने बताउनुभयो ।
देउवाले सरकारले चाहँदैमा पनि सबै बन्दीलाई छाड्न नसकिने बताउनुभयो । ‘सल्लाह गरौँ, सकिने जति काम म गर्छु भनेकै छु’, बैठकमा बोल्दै देउवाले भन्नुभयो ।
सबैको सहमतिबाट नेपालको चुच्चे नक्सा जारी भएको उहाँले बताउनुभयो । यसमा कसैले पनि श्रेय लिन आवश्यक नरहेको उहाँको भनाइ छ । राष्ट्रियताको विषयमा सारा नेपाली एक भएको देउवाले बताउनुभयो ।
देउवाले देशको अहिलेको प्राथमिकता कोभिड विरुद्धको खोप भएको बताउनुभयो । ‘अहिलेको पहिलो प्रथामिकता खोप, दोस्रो प्राथमिकता खोप, तेस्रो प्राथमिकता खोप, खोप, खोप, खोप’, देउवाले भन्नुभयो ।
सबै देशसँग राम्रो सम्बन्ध बनाउनु नै नेपालको हित हुने देउवाले बताउनुभयो । ‘राष्ट्रिय हित यसमै छ, छिमेकीसँग राम्रो सम्बन्ध राख्ने’, उहाँले भन्नुभयो ।
उहाँले अवस्था चुनौतीपूर्ण भएको बताउँदै सकेसम्म राष्टिर्य सरकार बनाउनको लागि सघाउन आग्रह गर्नुभयो । कोभिड विरुद्धको लडाईँ एक भएर लड्नको लागि पनि उहाँले सबैमा आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीले विपक्षीलाई आक्रमण गर्नु हुँदैन भन्ने व्यक्ति आफू भएको देउवाले बताउनुभयो । ‘आक्रमण गर्ने प्रतिपक्षीले हो, सत्ता पक्षले होइन’, उहाँले भन्नुभयो ।
बैठकमा प्रतिपक्षी नेकपा एमालेले दिएको सुझावलाई आफूले सम्मान गर्ने उहाँले बताउनुभयो । बैठकमा प्रमुख प्रतिपक्षी दलको नेता अनुपस्थित हुनुभएकोमा देउवाको गुनासो थियो । प्रधानमन्त्रीले बोल्दा प्रमुख प्रतिपक्षी दलको नेता उपस्थित हुने परम्परा रहेको देउवाले बताउनुभयो ।
