काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासकाे मत पाउनुभएकाे छ ।
सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले आइतबार बसेकाे प्रतिनिधि सभाकाे दाेस्राे बैठकमा विश्वासकाे मत पाउनुभएकाे हाे । कुल २ सय ४९ सांसद् उपस्थित भएकाेमा देउवाकाे पक्षमा १ सय ६५ र विपक्षमा ८४ मत परेकाे छ । मत दिन्न अर्थात तटस्थमा १ मत परेको छ ।
विश्वासको मत पाउन प्रस्तावकाे पक्षमा १ सय ३६ मत आवश्यक थियाे । देउवालाई नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एमालेकाे माधवकुमार नेपाल गुटका सांसद्ह र राष्ट्रिय जनमोर्चाले विश्वासकाे मत दिएका हुन् ।
सर्वोच्चको परमादेश पछि असार २९ गते प्रधानमन्त्री बन्नुभएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिनुभएकाे हाे ।
