काठमाडौं । राष्ट्रिय सभाका सदस्य देवेन्द्र दाहालले देश परमादेशबाट सञ्चालित भएको बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद् दाहालले भर्खरै मात्र अदालतले गरेको परमादेशको बारेमा राष्ट्रिय सभाको दृष्टिकोण आउनु पर्ने बताउनुभयो । ‘अदालतको फैसलाको बारेमा प्रश्न उठाउन पाउने कि नपाउने ?’, उहाँले भन्नुभयो । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आदेश जारी गरेको कारण अदालतमाथि गम्भीर प्रश्न उठेको उहाँले बताउनुभयो । अदालत माथि प्रश्न उठ्नु दुर्भाग्यपूर्ण भएको उहाँले बताउनुभयो ।
महान्याधिवक्ताको बारेमा प्रश्न उठाउने न्यायाधीशले गठबन्धनका वकिलले दिएको आदेश खुरु खुरु पालना गरेको उहाँको भनाइ छ । उहाँले सर्वोच्च अदालतमा भएका घटनाक्रमलाई हेर्दा सेटिङबाट इजलास गठन र सेटिङबाटै फैसला आएको उहाँले दाबी गर्नुभयो ।
यस पटक न्यायाधीशहरु जसरी पनि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मनसायका साथ आएका उहाँले बताउनुभयो । अदालतको यस पटकको फैसलाले संविधानका व्याख्या गरेको होइन जनताको अधिकार खोसेको उहाँले बताउनुभयो ।
अदालतले गरेको गलत फैसला टुलुटुलु हेरेर बस्न नसकिने पनि उहाँले बताउनुभयो । संसद् जनताको अदालत भएकोले गलत फैसलाको बारेमा जनतालाई सुचित गराउँदै त्यसलाई सच्याउँदै कानुनलाई प्रष्ट पार्ने काम संसद्ले गर्नु पर्ने उहाँले बताउनुभयो ।
