काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमल वलीले सर्वाेच्च अदालतकाे फैसलाप्रति असन्तुष्टि जनाउनुभएकाे छ ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै एमाले सांसद् वलीले सर्वाेच्च अदालतकाे फैसलाले राजनीतिक स्थायित्व नै खतरामा परेकाे बताउनुभयाे । सर्वाेच्चले बनाएकाे नजिरबाट बच्न उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव पनि दिनुभयाे ।
उहाँले भन्नुभयाे - 'आफ्नै पार्टी विरुद्ध अन्य पार्टीलाई भाेट दिँदा पनि कारबाही हुँदैन भन्ने सर्वाेच्च अदालतकाे फैसलाहरु कति दिन कसका लागि खुसी वा रुवावासी हुनेछन्, यसबाट शेरबहादुरजी बच्नुहाेस् शुभकामना ।' अनाैठाे र आश्चर्यजनक तरिकाले विभिन्न स्वार्थकाे फ्यूजनबाट प्रधानमन्त्री बन्नुभएकाे देउवालाई उहाँले शुभकामना पनि दिनुभयाे
नेकपा एमालेका केही नेताका कारण कांग्रेसको सपना पूरा भएको उहाँले बताउनुभयाे । सबै कुरा अदालतले निर्णय गर्न थालेपछि संसद्काे काम के हाे भन्ने प्रश्न उठिरहेकाे उहाँकाे भनाइ छ । अदालतको निर्णयबाट सत्ता प्राप्ति गर्नेहरू खुसी भएको अवस्था भएपनि यसले राम्राे सिस्टम नभएकाे उहाँले बताउनुभयाे । वलीले भन्नुभयाे - ' हामी यो पनि हेक्का राखौँ, अदालत बढी बोल्यो भन्ने प्रश्न समाजमा उठिरहेको छ, व्यवस्थापिका कमजोर हुन सक्छ भन्ने उत्तिकै छ, सबै कुरा अदालतले निर्णय गर्ने हो भने संसद किन चाहियो ? अदालतका न्यायाधीशहरूले निर्णय गर्ने कर्मचारीहरूले कार्यान्वयन गरे भइहाल्यो नेताहरू किन चाहियो ?'
५ वर्षकाे जनमत पाएकाे सरकार ढालिएका बेला अबकाे सरकार स्थायित्वको पक्षमा हिँड्न नसक्ने उहाँले बताउनुभयाे । ओली सरकारलाई असफल बनाउन धेरै षडयन्त्र भएका उहाँले बताउनुभयाे । अहिलेसम्मका प्रधानमन्त्रीमध्ये केपी ओलीले जति काम अरु कसैले काम गर्न नसकेका उहाँले बताउनुभयाे ।
