काठमाडाैं । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारलाई चुनाव नसार्न सुझाव दिनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै नेता नेम्वाङले यो निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नुपर्ने बताउनुभयाे । याे सरकारकाे महत्वपूर्ण जिम्मेवारी चुनाव भएकाे भएकाे पनि उहाँले बताउनुभयाे । नेम्वाङले भन्नुभयाे - 'म सभामुखमार्फत खुसुक्क मात्रै, अन्यथा केही होइन, खुसुक्क मात्रै प्रधानमन्त्रीले मात्र सुन्नेगरी भन्छु - प्रधानमन्त्रीज्यू यो निर्वाचन नसार्नुहोला है ।'
अब राजनीतिक आन्दोलन सकिएको भन्दै उहाँले अब आर्थिक आन्दाेलन आवश्यक रहेकाे बताउनुभयाे । जनताको भावना अनुसार जुनसुकै अवस्थामा पनि आफूहरुले जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयाे ।
नेता नेम्वाङले प्रधानमन्त्री देउवालाई धेरै चुनाैती रहेका पनि बताउनुभयाे । 'यहाँलाई धेरै चुनाैती छ, किनकी याे सरकार जनादेशबाट बनेकाे हाेइन, सदनबाट बनेकाे हाेइन,परमादेशबाट बनेकाे हाे, त्यसैले जनतासँग जाेडिन सायद अप्ठेराे छ ।'
एमालेले हल्लामा विश्वास नगर्ने भएपनि कतिपय कुरा गम्भीर भएकाले उठाइएकाे नेम्वाङले बताउनुभयाे । प्रतिनिधि सभा चाँडै समापन हुँदैछ र सरकारले अध्यादेश ल्याउँछ भन्ने हल्ला चलिरहेकाे भन्दै उहाँ केपी शर्मा ओली नेतृत्वकाे सरकारले अध्यादेश ल्याउँदा विराेध गर्ने कांग्रेसले २ दिनमै संसद् बन्द गरेर अध्यादेश ल्याउला भन्ने विश्वास नलागेकाे बताउनुभयाे ।
प्रतिनिधि सभाकाे अधिवेशनको पहिलो बैठकमा कुनै पनि विशेष काम गर्ने संसदीय अभ्यास नभएकाे नेता नेम्वाङले बताउनुभयाे । लामाे संसदीय अभ्यास ताेड्दै सरकारले विश्वासको मत लिएको भन्दै उहाँले आगामी दिनमा यस्ता विषयमा ध्यान दिन सरकारलाई सुझाव दिनुभयाे ।
काेभिड महामारीका बेला स्वास्थ्य मन्त्रालय नै मन्त्रीविहीन भएकाे भन्दै उहाँले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेन भन्नेमा ध्यानाकर्षण भएकाे बताउनुभयाे । संविधानले २५ बाहेक मन्त्री बनाउन नदिने भन्दै उहाँले सरकार चलाउँदा कुनै अप्ठेराे भए प्रतिपक्षी दल सहयाेग गर्न तयार रहेकाे उपनेता नेम्वाङले बताउनुभयाे ।
हाेसियारपूर्वक काम गरेर अघिल्लाे सरकारले गरेका कामलाई निरन्तरता दिन र सहमतिहरु कार्यान्वयन गर्न नेम्वाङले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । भारतले लुटेकाे नेपाली भूमि समेटेर ओली सरकारले चुच्चे नक्सा ल्याएकाे र नेपाली जमिन फिर्ता ल्याउने आधार तय गरेकाे भन्दै उहाँले भन्नुभयाे - 'ती काम अगाडि बढाउने कुरामा सरकार अगाडि बढाेस् त्यसमा हाम्राे सहयाेग रहन्छ ।'
केही केही नाकावन्दीकाे नाम समेत लिन नसकेका बेला ओली सरकारले सदाका लागि नाकावन्दी हटाएकाे उहाँले स्मरण गराउनुभयाे । ओली नेतृत्वकाे सरकारले काेभिड विरुद्धकाे खाेप ल्याउने र निशुल्क लगाउने आधार तयार पारेकाे भन्दै उहाँले साेही आधारमा उभिएर अगाडि बढ्न सरकारलाई सुझाव दिनुभयाे ।
नेपाली राजनीतिक आन्दाेलन सकियाे अब आर्थिक परिवर्तन गर्नुपर्छ भन्ने भावनासाथ ओली सरकारले समृद्ध नेपाल सुखी नेपाली नारालाई अगाडि सारेर कार्यान्वयनकाे चरणमा लगेकाले यसलाई अगाडि बढाउने जिम्मेवारी पनि याे सरकारकाे रहेकाे नेम्वाङले बताउनुभयाे ।
