काठमाडौं । प्रतिनिधि सभा सदस्य हरिबोल गजुरेलले पटक पटक प्रतिनिधि सभा विघटन हुने र देशमा अस्थिरता आउने देखेर नै कार्यकारी राष्ट्रपतिको कुरा उठाएको बताउनुभएको छ ।
शुक्रबार प्रतितिनिध सभाको बैठकमा बोल्दै उहाँले यस्तै अवस्था आउँछ भनेर नै संविधानको धारा ७६ को उपधारा ५ को व्यवस्था राखिएको बताउनुभयो । संसद् भित्र निर्दलीय व्यवस्थाको परिकल्पना जानीबुझी गरिएको उहाँले बताउनुभयो ।
उहाँले पूर्वप्रधानमन्त्री तथा तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र संसदीय दललाई वेवास्ता गरेको कारण अहिलेको अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले प्रतिनिधि सभा पुर्नस्थापना हुनु जनताको जीत भएको पनि बताउनुभयो ।
प्रचण्डको लाइनलाई शेरबहादुर देउवा, माधव नेपाल र उपेन्द्र यादवले समर्थन गरेकै कारण प्रतिनिधि सभा पुर्नस्थापना र शेरबहादुर देउवा प्रधानमन्त्री हुन सकेको उहाँले बताउनुभयो । शेरबहादुर देउवाले गिरीजाप्रसाद कोइरालाको इतिहास दोहोर्याउनु पर्ने बेला आएको पनि उहाँले बताउनुभयो । गिरिजाप्रसाद कोइरालाले आफू पराजित हुने थाहा पाउँदा पाउँदै पनि चुनाव गराएको बताउँदै उहाँले देउवाई त्यसैगरी आफ्नो दल भित्रको स्वार्थमा नलाग्न आग्रह गर्नुभयो ।
संसदबाट निर्वाचित सदस्यको बहुमत हस्ताक्षरबाट शेरबहादुर देउवा प्रधानमन्त्री भएकोले उहाँ जनादेशबाटै बनेको प्रधानमन्त्री भएको गजुरेलको टिप्पणी थियो ।
