काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई पूर्ण सहयोग गर्ने भएको छ । एमालेले सरकार ढाल्नलाई कुनै प्रयत्न नगर्ने भएको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आज प्रतिपक्षीका रुपमा एमालेको नीति सार्वजनिक गर्नुभएको हो ।
प्रतिनिधि सभा बैठकमा बोल्दै नेम्वाङले भावी दिनमा एमालेको नीति प्रकाश पार्नुभएको हो । नेम्वाङले प्रष्ट संकेत गर्नुभयो– सरकार गिराउन हामी कुनै प्रयास गर्ने छैनौं । एमालेले सरकार गिराउन कुनै प्रयास नगर्ने संकेत दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई ठूलो राहत भएको छ ।
प्रतिनिधि सभाको बाँकी रहेको अवधी शेरबहादुर देउवाको सरकार निरन्तर हुने पनि नेम्वाङले बताउनुभयो । उहाँले भन्नुभयो– ‘प्रतिनिधि सभाको बाँकी अवधी यहाँ (शेरबहादुर देउवा)ले देशलाई हाँकेर लैजानुपर्ने स्थिति छ, त्यसका लागि बधाई छ । तर, आज उठेका प्रसंगहरुलाई कसरी लिनहुन्छ ? त्यसमा ध्यानाकर्षण गराउँछु ।’
‘जिम्मेवार प्रतिपक्षीका रुपमा हामी वेठिकलाई वेठिक भन्छौं तर जिम्मेवारीपूर्वक अगाडि बढ्छौं । जिम्मेवार प्रतिपक्षले तपाईं र तपाईंको सरकारलाई सहयोग गर्छ’– नेम्वाङले प्रष्ट पार्नुभयो ।
एमालेले आगामी दिनमा प्रत्येक मन्त्रालयको अनुगमन गर्ने घोषणा पनि नेम्वाङले गर्नुभयो । समृद्ध नेपाल सुखी नेपालीको नेपाली सपना पूरा गर्न एमालेले सरकारलाई पूर्ण सहयोग गर्ने पनि उहाँले बताउनुभयो ।
एमाले कस्तो प्रतिपक्षी बन्छ भन्ने उदाहरण दिँदै नेम्वाङले भन्नुभयो– ‘हामीले अध्यादेश प्रस्तुत हुने दिन सदनमा अवरोध गरेनौं । अधिवेशन सुरु हुने दिन विशेष कुनै कार्यसूची हुँदैन तर यसपटक त्यस्तो भएन । अधिवेशन सुरु हुने दिन नै विश्वासको मत लिने काम भयो । हामी सदनमा सहयोगात्मक हुन्छौं ।’
प्रधानमन्त्री देउवालाई लक्षित गर्दै नेम्वाङले भन्नुभयो– ‘पार्टीगत रुपमा तपाईंको पार्टीलाई सहयोग रहन्छ । तपाईंसँग त्यही रुपमा हार्दिक सम्बन्ध रहन्छ । हामी तपाईंको पार्टीसँग तपाईं मार्फत् सम्बन्ध विस्तार गर्छाैं । तपाईंको पार्टीभित्रका कोही मित्रहरुसँग कुनै छुट्टै गठवन्धन गर्दैनौं ।’
प्रतिनिधि सभा विघटन र पुनस्थापना सम्बन्धी मुद्दाको सेरोफेरोमा सर्वाेच्च अदालतको परमादेशबारे पनि नेम्वाङले गम्भीर अभिव्यक्ति दिनुभएको छ । उहाँले भन्नुभयो– ‘केही समय अगाडि उहाँ (शेरबहादुर देउवा)ले भनेको मलाई याद छ । हामीलाई यसपटक जनताले जनादेश दिएका छैनन्, त्यसकारण म सरकारमा जानेवाला छुइन भन्नुभएको थियो । अहिले त बधाई दिनुपर्ने पो अवस्था आयो । कहिले जनादेश प्राप्त भयो थाहा छैन ।’
नेम्वाङले भन्नुभयो– ‘यो पहिलो पटक हो, संसद्बाट होइन, जनादेशबाट होइन, सम्मानित सर्वाेच्च अदालतको परमादेशबाट हामीले प्रधानमन्त्री प्राप्त गरेका छौं ।’
सर्वाेच्च अदालतको फैसलाले संविधानलाई कमजोर तुल्याएको उहाँले बताउनुभयो– ‘राज्यका तीन अंगहरु बीचमा सर्वाेच्च अदालतको फैसलाले सन्तुलन खल्बलिन पुगेको छ ।’
