काठमाडाैं । नेकपा एमालेका सांसद् नारमुनी रानामाथि संसदीय समितिमा भएकाे अपमानकाे विषय प्रतिनिधि सभामा उठेकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै एमालेकी सांसद् गंगा चाैधरी सत्वगाैवाले सांसद् नारदमुनी रानामाथि संसदीय समितिमा भएकाे व्यवहारकाे कडा विराेध गर्नुभएकाे हाे । सांसद् सत्गौवाले साे घटनाले समस्त थारु समुदायको अपमान भएको बताउनुभयाे ।
बराबर हैसियतकाे सांसद्लाई संसदीय समितिबाट निस्केर जा भन्नु अलाेकतान्त्रिक र अधिनायकवादी चरित्र भएकाे गंगाले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'म थारुकी छाेरी तिताे बाेल्छु तर सत्य बाेल्छु, लाेकतन्त्र भनेकाे के हाे ? लाेकतन्त्र भनेकाे के बाेल्न नपाउने हाे ? फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ? एउटा बरारबर हैसियतकाे सांसद्लाई निस्केर जा भन्न मिल्छ ? त्यहाँ त सबैकाे हैसियत बराबर हुन्छ नि हाेइन ?'
साउन १० गते बसेकाे अन्तराष्ट्रिय सम्बन्ध समितिकाे बैठकमा अधिनायकवादी चरित्र प्रदर्शन भएकाे बताउँदै गंगाले भन्नुभयाे - 'संविधानले दिएकाे माैलिक स्वतन्त्रता हनन भएकाे छ, वाक स्वतन्त्रतामाथि गम्भीर आघात पुगेकाे छ, हामीले लडेर ल्याएकाे लाेकतन्त्र यस्ताे हुन सक्दैन,१० गते समितिभित्र भएकाे घटनालाई सम्पूर्ण थारु समुदायमाथि भएकाे अपमानका रुपमा लिन सकिन्छ, नारदमुनीकाे मात्र हाेइन जुन दृश्य समितिमा देखियाे त्याे सदियाैदेखिकाे शासकहरुले थारुमाथि शाेषण गरेकाे झझल्काे दिलाउँछ, आगामी दिनमा यस्ताे घटना नदाेहाेरियाेस् ।'
माधवकुमार नेपालले सांसद् रानालाई प्रतिगमनकाे मतियार निस्केर जानुस् भन्नुभएकाे थियाे । गंगाले माधवकाे साे अभिव्यक्तिकाे विराेध गर्नुभएकाे हाे ।
