काठमाडाैं । नेकपा एमालेका सांसद् पदम गिरीले वर्तमान सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाउनु भएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् गिरीले वर्तमान सरकारले केपी शर्मा ओली नेतृत्वका सरकारले गरेका अभूतपूर्व निर्णय उल्ट्याउने काम गरिरहेकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे -'वर्तमान निर्दलीय सरकारकाे ध्यान हिजाे केपी ओली नेतृत्वकाे सरकारले लिएका निर्णय र सकारात्मक काम कसरी भत्काउन सकिन्छ भन्नेमा गइरहेकाे छ, ओली सरकार भूमिसम्बन्धी समस्या समाधान आयाेगले १२ लाख भूमिहीनलाई लालपूर्जा बाढ्न अन्तिम तयारीमा थियाे, तर याे सरकारले आयाेग विघटन गरेकाे छ, लालपूर्जा पाउँछाैं भन्ने नागरिकहरु हेरेर बसिरहेका छन्, ती नागरिक नेपाली नागरिक हुन् कि हाेइनन् याे सरकारले सुनाेस् ।'
काेभिड कहरले देश आक्रान्त बनेकाे र उद्याेग व्यवसायहरु अस्तव्यस्त भइरहेकाे बेला सबै नागरिकलाई काेभिड विरुद्धकाे खाेप दिनुपर्नेमा सरकारकाे ध्यान नगएकाे बताउनुभयाे । केपी ओली नेतृत्वकाे सरकारले सुनिश्चित गरेकाे खाेप समेत वर्तमान सरकारले लगाउन र व्यवस्थित गर्न नसकेकाे सांसद् गिरीले बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'यस्ताे विकराल अवस्थामा नागरिककाे सुरक्षा गर्नु सरकारकाे दायित्व हाे, ओली सरकारले सम्झाैता गरिसकेकाे र कतिपय आइसकेकाे १ कराेड ३१ लाख खाेप नागरिकलाई लगाउनुपर्नेमा याे सरकारकाे ध्यान गएकाे देखिएन, अघिल्लाे सरकारले ल्याएकाे खाेप पनि याे सरकारले व्यवस्थित रुपले लगाउन सकेकाे छैन, विदेश जान खाेप लगाउन २४ घण्टासम्म लाइन लाग्दा पनि खाेप लगाउन नसक्ने प्रमाणपत्र नपाउने अवस्था छ ।' मेलम्ची, पर्वत गाेर्खासहित देशका धेरै ठाउँ बाढीपहिराेबाट आक्रान्त भएका र धेरै घरबारबिहीन भएका बताउँदै गिरीले भन्नुभयाे - 'उनीहरुलाई पुर्नस्थापना गर्ने काममा सरकारले ध्यान देहाेस् भन्ने म चाहान्छु तर दुर्भाग्य यी कुरा वर्तमान सरकारकाे प्राथमिकतामा छैन, याे निर्दलीय सरकारकाे ध्यान हिजाे केपी ओली सरकारले लिएका निर्णय र सकारात्मक काम कसरी भत्काउन सकिन्छ भन्नेमा गइरहेकाे छ ।'
अघिल्लाे सरकारलाई असफल पार्न र अघिल्लाे सरकारसँग प्रतिशाेधकाे भावना साँचेर याे सरकारले काम गर्न खाेजेकाे पनि गिरीले बताउनुभयाे । केपी ओली सरकारले गरेका काम अलपत्र हुने हुने कि भन्ने चिन्ता आम जनतामा बढेकाे पनि गिरीले बताउनुभयाे । रेलमार्ग र सुरुङमार्गकाे काम राेकेर अघिल्लाे सरकारकाे काम असफल पार्न याे सरकारले खाेजिरहेकाे समेत गिरीले बताउनुभयाे ।
देउवा सरकार बनेलगत्तै अपराधी र भ्रष्टाचारीहरूले उन्मुक्ति पाउन थालेको बताउँदै सांसद् गिरीले भन्नुभयो- 'यो निर्दलीय सरकार आउनासाथ बालुवाटारको जग्गा बेचबिखन गरेर खाने बिजय गच्छदार सामान्य धरौटीमा छुटेका छन्, भोलि कतै १२ जना मजदूरलाई भट्टामा पोल्ने अफताब आलमहरू पनि छुटेर यही ठाउँमा आउने त होइनन् ? सरकारले यो प्रवृतिलाई प्रश्रय दिने त होइन रु जनता चिन्तित छन्,वृद्ध भत्ता समेत कटाउने चिन्ता गाउँ-गाउँमा जेष्ठ नागरिकहरूले गर्न थालेका छन् ।'
