काठमाडौं । राष्ट्रिय सभा सदस्य देवन्द्र दाहालले संविधान च्यातियो भन्नेले परमादेशबाट सरकार बनाएको बताउनुभएको छ ।
बुधबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै दाहाले जनादेश के हो र परमादेश के हो भन्ने विषयमा प्रष्ट हुनुपर्ने बताउनुभयो । ‘संविधान सही सलामत छँदै छ, बरु पछिल्लो समय संविधानमा हुँदै नभएको परमादेशबाट सरकार बनेको छ’, उहाँले भन्नुभयो ।
मओवादी, कांगे्रस र राष्ट्रिय जनमोर्चा बाहेकका देउवालाई परेका मत पार्टीको निर्णयको मत नभएकोले त्यसलाई देउवाको जनमत भन्न नमिल्ने उहाँको भनाइ छ । ‘प्रतिनिधि सभामा देउवाले प्राप्त गरेको १ सय ६५ मतलाई जनादेश भन्न सकिँदैन’, दाहालले भन्नुभयो ।
उहाँले अहिलेको सरकारको आलोचना गर्ने बेला नभए पनि बिहानीले दिउँसो देखाउने बताउनुभयो । देउवा सरकार बन्ने बित्तिकै भ्रष्टाचारको आरोपका विजय गच्छादार न्युनतम धरौटीमा छुट्नु र अफ्ताब आलमको विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले नागरिकलाई आश्चर्य चकित बनाएको उहाँको भनाइ छ ।
जनताका आवश्यकता र मागमा आधारित विगतको सरकारले ल्याएको बजेट र योजनालाई वर्तमान सरकाले कटौती गर्नलागेको भन्दै उहाँले त्यस प्रति आपत्ति जनाउनुभयो । त्यस्ता योजना कटौती गरे सैह्य नहुने उहाँको भनाइ छ ।
