काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँडबीच भेटवार्ता भएकाे छ ।
सिंहदरबास्थित सभामुखको कार्यकक्षमा उहाँहरुबीच बिहीबार भेटवार्ता भएकाे हाे । संघीय संसद्को चालु अधिवेशनमा विधेयकहरु अघि बढाउने लगायत विषयमा उहाँहरुबीच छलफल भएकाे सभामुखकाे सचिवालयले जनाएकाे छ । सभामुख सापकोटा र गृहमन्त्री खाँडबीच यसबर्ष बाढी पहिरोका कारण देशभर उत्पन्न विपत्ति र व्यवस्थापसम्बन्धी सरकारी तयारीबारे पनि छलफल भएको छ ।
साे अवसरमा मन्त्री खाँडले विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोकमा राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितहरुको पुनर्स्थापनाको काम अघि बढाउने जानकारी दिनुभयो । उहाँले सिन्धुपाल्चोकको जुरे पहिरो पीडितको नाममा सर्वसाधारणबाट संकलन भई राज्यकोषमा रहेको रकम निकासा गर्ने विषयमा जानकारी लिएर काम अगाडि बढाइने पनि गृहमन्त्रीले बताउनुभयाे ।
यस वर्ष मनसुनको सुरुआतसँगै मनाङ र सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ठूलो क्षति पुगेपछि सरकारले दुबै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत वर्ष पनि बाढी पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि सिन्धुपाल्चोक र बाग्लुङलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको थियो ।
