काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग भएका सबै सम्झाैता सदनमा सार्वजनिक गर्न माग गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै एमाले सांसद् रावलले एमसीसीसँग भएकाे सम्झाैता संशाेधन नगरी अनुमाेदन गर्न नहुने बताउनुभयाे । एमसीसीका दफा दफा आफूले पढेकाे भन्दै मूल सम्झाैतासँगै अन्य थुप्रै गाेप्य सम्झाैता भएका बताउनुभयाे । उहाँले भन्नुभयाे - 'एमसीसीसँग भएका मूल सम्झाैतासँगै सबै सम्झाैता यहाँ सार्वजनिक गरियाेस्, नेपाली जनताले त्याे थाहा पाउने अधिकार छ,त्याे सबै प्रतिनिधि सभाका प्रत्येक सदस्यले थाहा पाउने अधिकार छ ।'
साे सम्झाैतामा भएका नेपालकाे राष्ट्रिय हित, स्वाधिनता,स्वतन्त्रता स्वाभिमान र नेपालकाे स्वतन्त्र परराष्ट्र नीतिका प्रावधान विपरितका प्रावधान परिमार्जन र संशाेधन नगरी सम्झाैता गरिएकाे त्याे राष्ट्रघात हुने उहाँले बताउनुभयाे । यसअघि भएका असमान सन्धी सम्झौताले अहिलेसम्म नेपालीहरु पीडित हुनुपरेको भन्दै उहाँले राष्ट्रहित विपरितका प्रावधान संशोधन नगरी एमसीसी पास गर्न नहुने बताउनुभयाे ।
अनुमति पाए एमसीसीसँग भएका सबै सम्झाैताका प्रावधान पढेर सुनाउन सक्ने पनि रावलले बताउनुभयाे । 'अहिले फेरि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अमेरिकी सरकारसँग हुन लागेको भन्ने सुन्दै छु, संसद्ले सम्झौता अनुमोदन नै नगरी कार्यान्वयन कसरी हुन्छ ? एमसीसीले नुवाकोटमा जग्गा अधिग्रहण कसरी सुरु गर्यो ? पाँचतारे होटेलमा कार्यालय खोलेर सञ्चारमाध्याममा एमसीसीको गीत गाउन कसरी मिल्यो ? नेपाली जनताको राजस्वको दुरुपयोग यसरी गर्न मिल्छ ?'- रावलकाे प्रश्न छ ।
