ननकाठमाडाैं । नेपाली कांग्रेसका सांसद् प्रदीप गिरिले सबै दल मिलेर साझा विदेश नीति बनाउनुपर्ने बताउनु भएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् गिरिले सबै दल मिलेर साझा विदेश नीति बनाउनुपर्ने बताउनुभयाे । साझा विदेश नीति बनाएपछि मात्र कुन सन्धि-सम्झौता खारेज गर्ने भनेर निर्णय गर्नुपर्ने बताउनुभयाे ।
गिरि अघि बाेल्नुभएका एमाले सांसद् भीम रावलले केही प्रावधान संशाेधन नगरी एमसीसी सम्झौता पारित गर्न नहुने बताउनुभएकाे थियाे । त्यसपछि गिरिले देशको विदेश नीति आफूलाई उचो देखाएर अरुलाई होच्याउने विषय नभएको टिप्पणी गर्नुभयाे ।
जबसम्म दलहरु साझा विदेश नीतिप्रति प्रतिवद्ध हुँदैनन् तबसम्म समस्या रहिरहने गिरिले बताउनुभयाे । गणतन्त्रमा आइसकेपछि पनि दलहरुबीच साझा विदेश नीति बन्न नसकेको बताउँदै गिरिले प्रश्न गर्नुभयाे - 'दलहरुबीच गणतन्त्र आएपछि पनि किन साझा विदेश नीतिप्रति प्रतिबद्धता जनाउने अवस्था निर्माण भएको छैन ?, पूर्वपवक्ता माननीयले झै आफूलाई बडो उचो बनाउने र अरुलाई होच्याउने प्रयास किन भइरहेको छ ?'
भारत, चीन, अमेरिका, युरोपेली युनियन, जापान लगायत देशमा विदेश नीतिका सिलसिलामा यति धेरै तथ्यहीन र उग्र मतभेद नहुने उदाहरण दिँदै गिरिले दलहरु साझा विदेश नीतिप्रति प्रतिबद्ध नभई एक अर्कालाई तल देखाएर मुखको तितो मात्र पोख्ने गरिएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'पहिले हामी साझा दृष्टिकोण बनाऔं, भारतकाप्रति, चीनकाप्रति, अमेरिकाकाप्रति, अनि सन्धि खारेज गर्ने, के गर्ने, के नगर्ने ? को राख्ने, को नराख्ने ? यो राष्ट्रिय नीतिको सवाल हो ।'
नेपालीले माल पाए पनि चाल नपाएको भन्दै उहाँले अहिलेसम्मका कुनै पनि प्रधानमन्त्रीले स्वदेशमै भएको सम्भावनाबारे गम्भीर रुपमा बुझ्न नचाहेको दाबी गर्नुभयाे । लोकतन्त्रलाई कसरी जनमुखी बनाउने भन्ने दायित्व वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको भएकाे गिरिले बताउनुभयाे । प्रधानमन्त्री देउवालाई पार्टीका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाले हिजो हिंसावादीलई मूलधारमा ल्याएको स्मरण गर्दै गिरिले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई संविधानवादको शिक्षा दिन आग्रह गर्नुभयाे ।
गिरीले अहिले खोप मात्रै प्राथमिकताको विषय नभएर सुशासन पनि मुख्य प्राथमिकताको विषय रहेको बताउनुभयाे । वर्तमान सरकारले खोप सँगसँगै सुशासनको पनि आभास गराउन सक्नुपर्ने पनि गिरिकाे भनाइ छ ।
