काठमाडौं । संघीय संसद् सचिवालयको सबै सरकारी कारोबार अब राष्ट्रिय वाणिज्य बैंकबाट हुने भएकाे छ ।
यसअघि निजी बैंकबाट गर्दै आएको कारोबार अब राष्ट्रिय वाणिज्य बैंकबाट गरिने संघीय संसद् सचिवालयले आज जानकारी दिएकाे हाे । याेसँगै सांसदहरुले अब सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत तलब भत्ता बुझ्ने छन् ।
प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार अर्थ मन्त्रालयको निर्देशनपछि सरकारी स्वामित्वको बैंकमार्फत नै कारोबार हुने व्यवस्था मिलाइएको हाे । संसद् बैठक र अन्य माध्यममा कुरा उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले ध्यानाकर्षण गराउनु भएकाे थियाे । सभामुखको निर्देशन अनुसार सचिवालयले ०७७ मंसिर १८ गते सरकारी कारोवार गर्ने बैंक परिवर्तन गरी पूर्ण सरकारी स्वामित्व भएको सो बैंकमार्फत गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो ।
०७७ माघ ११ को पत्रबाट आर्थिक वर्षको बिचमा खाता परिवर्तन गर्न कठिनाइ हुने जानकारी अर्थले दिएको थियो । सचिवालयले ०७८ असार ३१ गते पुनः ताकेता गरी खाता परिवर्तनका लागि अनुरोध गरेको थियो । सभामुखको पहलपछि अर्थले नेपाल राष्ट्र बैंक तथा महालेखा नियन्त्रकको कार्यालयमार्फत हालै सिंहदरबारस्थित सबै कार्यालयका सरकारी खाता सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत सञ्चालन गर्न निर्देशन दिएको हाे ।
सो बैंकलाई सिंहदरबार शाखाको स्तरोन्नति र सेवा सुविधा विस्तारको लागि अनुरोध समेत गरिएको छ । यसअघि सरकारी खाता एभरेष्ट बैंकमार्फत सञ्चालन हुँदै आएको थियो । सचिवालयले सभामुख सापकोटा अर्थमन्त्री जनार्दन शर्मालगायत साे काममा नेतृत्वदायी भूमिका निर्वाह गर्ने सम्पूर्ण निकायका पदाधिकारीलाई धन्यवाद दिएकाे छ ।
