काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले दार्चुला घटना छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे सुरुमै समय लिएर बाेल्दै एमाले सांसद् गणेशसिंह ठगुन्नाले तत्काल संसदीय समिति गठन गर्न माग गर्नुभएकाे हाे । जयसिंह धामी वेपत्ता सम्बन्धी घटनालाई सरकारले संवेदनशील रुपमा नलिएकाे उहाँले बताउनुभयाे ।
भारतीय एसएसबीका जवानले तार काट्दा जयसिंह धामी नदीमा खसेको भन्दै ठगुन्नाले त्यहाँ उपस्थित मानिसहरुले तार नकाटिदिन हारगुहार गर्दा पनि तार निकाल्दा दुःखद रअमानवीय घटना हुन पुगेको बताउनुभयाे ।
प्रत्यक्षदर्शीको बयान र जयसिंहको परिवारले किटानी जाहेरी दिँदा पनि सरकारले भारतसँग औपचारिक विरोध नजाएकामा आपत्ति जनाउँदै ठगुन्नाले भन्नुभयाे - 'सीमामा एउटा नागरिकको खुलेआम हत्या हुँदा पनि वर्तमान सरकार भारतीय राजदूतलाई बोलाएर औपचारिक रुपमा विरोध जनाउँदै दोषीलाई कडा कारबाही गर्ने र मृतक परिवारलाई यथोचित क्षतिपूर्ति दिनुको सट्टा प्रशासनिक कर्मचारीको नेतृत्वमा छानबिन समिति गठनको नाटक गरेर घटनालाई साम्य पार्ने प्रयास गरिरहेको छ, गृह मन्त्रालय, स्थानीय प्रशासनको विज्ञप्ति हेर्दा सरकारले यो घटनालाई संवेदनशील रुपमा लिएको देखिँदैन ।'
दाेषी भारतीय सुरक्षाकर्मीलाई मानव हत्याकाे अभियाेगमा कारबाही गर्न र जयसिंहका परिवारलाई क्षतिपूर्ति दिन उहाँले सरकारसँग माग गर्नुभयाे । साे घटनाकाे आफू र आफ्नाे पार्टी एमालेले घाेर भत्सर्ना गरिएकाे पनि सांसद् ठगुन्नाले बताउनुभयाे ।
याे घटना प्रतिनिधि घटना मात्र भएकाे भन्दै उहाँले भन्नुभयाे - 'यसमा भारतलाई मात्र दाेष दिएर हामी उम्कन मिल्दैन, नैतिक दायित्व हामीले पनि लिनुपर्छ ।' केपी शर्मा ओली नेतृत्वकाे सरकारले माथिल्लाे एकातर्फकाे बाटाे बनाइसकेकाे भन्दै उहाँले नेपाली नागरिकले तुइन तर्न नपर्ने अवस्था बनाउन पनि सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
प्रत्यक्षदर्शीले देखेकाे कुरालाई गृह मन्त्रालय र स्थानीय प्रशासन समेत ढाकछोप गर्न र भ्रम नफैलाउन भनेर विज्ञप्ति निकालिरहेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयाे । संसदीय छानविन समिति बनाउन, भारतसँग औपचारिक कुरा गर्न र धामीका परिवारलाई तत्काल क्षतिपूर्ति दिलाउन पनि उहाँले माग गर्नुभयाे ।
