काठमाडाैं । नेकपा एमालेका सांसद् महेश बस्नेतले प्रतिनिधि सभामा व्यंग्यात्मक शैलीमा विचार राख्नुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् बस्नेतले सरकार बनेकाे ३ साता बित्दा पनि मन्त्रिमण्डले पूर्णता नपाएकाेमा कडा व्यङ्ग्य गर्नुभयाे । गठबन्धन सरकारका कामबारे पनि उहाँले कडा व्यङ्ग्य गर्नुभयाे ।
कवितात्मक शैलीमा व्यङ्ग्य गर्दै सांसद् बस्नेतले परमादेशबाट मन्त्री बनाइपाउँ भनेर अदालतमा परमादेश जारी गर्न लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभयाे । सरकारका गतिविधि देखेर जनादेश बिनाकाे सरकार नचल्ने देखिएकाे महेशले बताउनुभयाे । सांसद बस्नेतले जनताले केपी ओली आइ लभ यू भन्न थालिसकेका पनि बताउनुभयाे ।
यस्तो छ उहाँको कवितात्मक व्यङ्ग्य
एसएसपीले तुइन काटे, जयसिंह धामी महाकालीमा डुबे, सरकार भन्छ- मौन बस, समाचार नबनाऊ ।
प्रधानमन्त्री भन्नुहुन्छ- खोप, खोप, खोप ।
कांग्रेसकाे मेयरको घरमा खोप । उपसभापतिकाे घरमा खाेप । होटलमा सत्तापक्षका कार्यकर्तालाई खोप नै खोप । जनता दिनभरी लाइनमा खोप न सोप ।
विचरा सरकार व्यापारी मन्त्री बनाउँछ । दक्ष सचिव फेर्छ । वीर अस्पतालको एमडी फेर्छ । स्वास्थ्य माफियालाई संरक्षण गर्छ ।
देशभर बाढी पीडित जनता राहत पाइएन भनेर कराउँछन् । कांग्रेसका विपक्षीहरू मन्त्री नपाए सत्तामा जान्न भन्दैछन् । कांग्रेसका वडाध्यक्षहरु नगरपालिकाकाे कार्यालय फाेर्दैछन् ।
माओवादी-जसपा भन्दैछ, मन्त्री संख्या नबढाए सांसद् आत्महत्या गर्ने भए, दिमागमा आतंक ल्याए, भूकप ल्याए ।
परमादेशबाट बनेको सरकार तीन हप्ता भएछ । मन्त्रीमण्डल गठन भएन । न्यूनतम साझा कार्यक्रम ल्याएन ।
प्रधानमन्त्री ज्यू अब बेराेजगार भएका त्रिपाठीहरुलाई अदालत पठाउनुस् ।
फलाना पार्टीका फलानालाई मन्त्री बनाइपाउँ भनेर परमादेश जारी गराउनुस् ।
नत्र जनादेशबिनाकाे सरकार चल्लाजस्ताे देखिँदैन ।
जनता भन्दैछन् केपी बा आइ लभ यू ।
