काठमाडाैं । नेकपा एमालेका सांसद् गणेशसिंह ठगुन्नाले दार्चुला-खलंगा-तिंकर-कालापानी सडकलाई राष्ट्रिय गाैरवकाे सडक घाेषणा गर्न माग गर्नुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे सुरुमै बाेल्दै सांसद् ठगुन्नाले भन्नुभयाे - 'दार्चुला खलंगा तिंकर कालापानी सडकलाई राष्ट्रिय गाैरवकाे सडक घाेषणा गरियाेस्, नेपाली सेना र स्थानीय युवाकाे पहलमा पूरा गरियाेस् ।'
अघिल्लाे सरकारले अगाडि बढाएकाे साे सडकसम्बन्धी फाइल तत्काल स्वीकृत गर्न पनि उहाँले माग गर्नुभयाे । 'केपी ओली सरकारले याे सडकलाई प्राथमिकतामा राख्दै माथिल्लाे भागलाई नेपाली सेनामार्फत सञ्चालन गर्ने र सुनसरा सम्मकाे ४० किलाेमिटरकेा प्रक्रिया अगाडि बढाएकाे थियाे, साे फाइनल हाल भाैतिक मन्त्रालयमा पुगेकाे छ । साे फाइनल अविलम्ब स्वीकृत गर्न माग गर्दछु'- ठगुन्नाले भन्नुभयाे ।
दार्चुला सदरमुकामबाट करिब १ सय ३० किलाेमिटर दूरीमा व्यास गाउँपालिकाकाे तिंकर भञ्ज्याङ् र कालापानी पर्ने बताउँदै उहाँले भन्नुभयाे - 'त्यसतर्फका नागरिक बाटाे नभएकाले तुइन तरेर भारत भएर सदरमुकाम जान वाध्य छन्, याे सडकलाई राष्ट्रिय प्राथमिकतामा राखेर सञ्चालन गर्न हामीले पटकपटक आवाज उठाइरहेका छाैं, बहुदल स्थापनापछि लामाे समय सत्तामा भएका दलले याे सडकलाई उपेक्षित गर्दाकाे परिणाम आज भाेग्नदैछाैं ।'
वर्तमान प्रधानममन्त्री शेरबहादुर देउवाकाे गृह जिल्ला डढेलधुरा रहेकाे बताउँदै उहाँले भन्नुभयाे - 'दार्चुला घटनाकाे पीडा डढेलधुरालाई अवश्य दुख्नेछ ।'
