काठमाडौं । नेकपा एमालेका सांसद् योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाकाे समय सुरु भएकाे बताउनु भएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद् भट्टराईले प्रधानमन्त्री देउवालाई कोभिड नियन्त्रण गर्न समयको छुट नभएको बताउनुभयाे । 'प्रधानमन्त्री जी कोभिडको रोकथाम र नियन्त्रणका लागि तपाईंलाई समयको छुट छैन, शंकाको लाभ छैन, तपाईंको समय अब सुरु भएको छ, हेक्का रहोस्' - याेगेशले भन्नुभयाे ।
घाेषणा गरे अनुसार काम गर्न नसकेकाे भन्दै उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । 'ताप्लेजुङकी वरिष्ठ अहेव लक्ष्मी ओनेमले ९ घण्टामा ९ सय ४० जनालाई खोप लगाउनु भएछ, यो निकै सुखद खबर हो, तर तथ्यांक यस्तो मात्रै छैन, ६० प्रतिशत बढी नागरिकलाई खोप लगाउनुपर्ने हो, आजसम्म पाँच प्रतिशतले मात्रै पूर्ण खोप पाएका छन्,१४ प्रतिशतले पहिलो डोजको खोप लगाएका छन्, १६ हजार खोप केन्द्रमध्ये ३ हजार मात्रै सञ्चालनमा छन्, दशौँ हजार स्वास्थ्यकर्मी खोप लगाउने कामबाट विमुख छन्' - याेगेशले भन्नुभयाे ।
यस्तो अवस्थामा असोजभित्र सबैलाई खोप लगाउँछु भन्ने मन्त्रीको घोषणा र 'खोप, खोप र खोप' भन्ने प्रधानमन्त्रीको घोषणा लागू हुने नदेखिएकाे याेगेशकाे भनाइ छ ।
