काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले दार्चुला घटनाबारे छानबिन समितिले अध्ययन गरिरहेकाे बताउनु भएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभामा सांसद्हरुले उठाएका प्रश्न र जिज्ञासाकाे जवाफ दिँदै गृहमन्त्री खाँडले घटनाबारे निष्कर्षमा पुग्न सरकारद्वारा गठित छानविन समितिको प्रतिवेदन पर्खिनुपर्ने बताउनुभयाे ।
भारतीय एसएसबीले तुइन काटेपछि दार्चुलाका ३३ वर्षीइ जयसिंह धामी महाकालीमा वेपत्ता भएकाे भनिएपनि गृहमन्त्री खाँडले भने एसएसबीकाे संलग्नता जाेड्नुभएन । धामीको खोजतलासमा एसएसबीले सहयोग गरिरहेको भने उहाँले बताउनभयाे । उहाँले भारतसँग औपचारिक कुरा गर्नेबारे केही बताउनुभएन । छानबिन समितिकाे प्रतिवेदनअघि केही बाेल्न नमिल्ने उहाँले बताउनुभयाे ।
प्रत्यक्षदर्शीका अनुसार साउन १४ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काट्दा जयसिंह बेपत्ता भएका थिए । साे घटनाबारे धामीसँगै गएका अन्य तीन जनासँग सोधपुछ गर्ने काम भइरहेको र भारतको धार्चुला प्रशासनलाई पत्रसमेत पठाइएको गृहमन्त्री खाँडले जानकारी दिनुभयाे ।
बहादुरसिंह धामी, गौरासिंह धामी लगायत जयसिंह भन्दा अगाडि नै तुइन तरी पारी पुगेका ४ जनासँग जानकारी लिने काम भइरहेको पनि खाँडले बताउनुभयाे । पुल तर्न बाँकी रहेका ४ जनालाई जिल्ला सदरमुकाम बाेलाइ जानकारी लिने काम भइरहेको पनि उहाँले बताउनुभयाे ।
हालसम्म धामीको अवस्था अज्ञात रहेको र नेपाल र भारत दुवैतर्फ खोजी कार्य भइरहेको पनि उहाँले सदनमा जानकारी गराउनुभयाे । घटनाको अनुसन्धानका लागि साउन १७ गते सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन समिति गठन भएको भएकाे भन्दै उहाँले समितिलाई १० दिनकाे म्याद दिइएकाे बताउनुभयाे । छानविन समितिको निष्कर्षलाई दृढता साथ अघि बढाउने भन्दै गृहमन्त्रीले नागरिकको जीवन रक्षा गर्नु सरकारको मूल कर्तव्य भएकाे बताउनुभयाे ।
तुइन रहेको ठाउँमा चार वटा झोलुङ्गे पुल निर्माण भइरहेको भन्दै ती तुइन चाँडै निर्माण गरिने बताउनुभयाे ।
दार्चुला घटनामा सरकारले संवदेनशील नबनेकाे भन्दै प्रमुख प्रतिपक्षी एमालेले विराेध जनाएकाे छ । बैठकमा एमाले सांसद्हरुले तत्काल भारतसँग औपचारिक विराेध जनाउन माग गरेका छन् । दार्चुला घटनामा सरकारकाे प्रस्तुति निक्कै हलुका भएकाे एमाले सांसद्हरुले बताए ।
