काठमाडाैं । राष्ट्रिय सभा सदस्य वामदेव गाैतमले भूमि सुधार कार्यक्रम लागू गर्न माग गर्नुभएकाे छ ।
आइतबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै एमाले सांसद् गाैतमले भूमिलाई टुक्राउने काम बन्द गरेर भूमि सुधार लागू गर्न आग्रह गर्नुभयाे । भूमि सुधार लागू गरेर भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसाेबासीकाे समस्या कसरी समाधान गर्ने भन्ने विकल्पमा जानुपर्ने बताउनुभयाे ।
एमाले र माओवादीबीच एकतापछि घाेषित घाेषणापत्र लेख्ने अवसर आफूले पाएकाे स्मरण गर्दै उहाँले कृषि र भूमिकाे सम्बन्धमा उल्लेख गरिएकाे बताउनुभयाे ।
आयाेगहरु गठन गरेर मात्र नहुने भन्दै उहाँले सुकुम्बासी कसरी भए भन्नेबारे अध्ययन गर्नुपर्ने बताउनुभयाे । जबसम्म जमिनमाथि व्यक्तिगत स्वामित्व रहन्छ तबसम्म एकथरी धनी हुँदै जाने एकथरी सुकुम्बासी बन्दै जाने प्रक्रिया चलिरहने उहाँले बताउनुभयाे ।
गौतमले नेपालको भूमिको महानापी गर्नुपर्ने बताउनुभयो । महानापी पछि भूमिको उपयोग गर्ने कुरा लागु हुने उहाँले बताउनुभयो ।
गौतमले भूमिलाई टुक्रयाउँदै जाँदा एकदिन भूमिको अस्तित्व नै समाप्त हुने बताउनुभयो । ‘अब भूमिलाई टुक्रयाएर जानु हुन्न’, उहाँले भन्नुभयो ।
जमिन माथि व्यक्तिगत स्वामित्व कायम रहेसम्म सुकुम्बासी समस्या समाधान नहुने उहाँले बताउनुभएको छ । ‘सरकारले चलनचल्तीको मूल्यमा जमिन किनेर आफ्नो बनाओस्’, गौतमले भन्नुभयो ।
५ - ५कट्ठाको दरले जमिन बाँडेर अर्कोवर्ष आधा मानिसले बेचेर फेरि सुकुम्बासी बन्ने भएकाले फेरि पनि जमिन टुक्रा टुक्रा गरेर बाँढ्न नहुने उहाँले बताउनुभयो ।
गौतमले भूमिहिनलाई माग भएजति जमिन दिन सकिने अवस्था नभएकोले यसको विकल्प सोच्नु पर्ने बताउनुभयो । भूमिहीनका परिवारका दुई जना सदस्यलाई रोजगारी दिएर पनि समस्या समाधान गर्न सकिने उहाँले बताउनुभयो ।
सुकुम्बासीलाई जमिन नै दिने बाटो गलत भएको भन्दै यो बाटोबाट अघि बढ्न नसकिने गौतमको भनाइन छ ।
