काठमाडाैं । राष्ट्रिय सभा सदस्य वामदेव गाैतमले जमिनमाथिकाे व्यक्तिगत स्वामित्व हटाउनुपर्ने बताउनु भएकाे छ ।
राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै एमाले सांसद् गाैतमले जमिनमाथिको व्यक्तिगत स्वामित्व कायम रहेसम्म देशमा सुकुम्बासी समस्या समाधान नहुने बताउनुभयाे ।' जमिनमाथि व्यक्तिगत स्वामित्व जहिलेसम्म हुन्छ, त्यसबेलासम्म एकथरि मानिस त्यसलाई उपयोग गरेर धनि हुने, अर्काथरि मानिसहरु सुकुम्बासी हुँदैहुँदै जाने चलिरहन्छ'-उहाँले भन्नुभयाे ।
जग्गामा व्यक्तिगत स्वामित्व कायम रहेसम्म भूमिहीन बन्ने प्रक्रिया जारी पनि उहाँले बताउनुभयाे । सुकुम्बासीको नाममा जग्गा बाँडेर मात्र समस्या समाधान नहुने भन्दै उहाँले साे समस्या समाधानका लागि वैज्ञानिक प्रणाली बनाउनुपर्ने बताउनुभयाे । विघठित भूमि समस्या समाधान आयाेगकाे व्यवस्था अनुसार सुकुम्बासीका नाममा ५ कठ्ठा जग्गा दिन मिल्ने व्यवस्था रहेकाे बताउँदै उहाँले भन्नुभयाे -'५ कठ्ठा जग्गा कहाँबाट ल्याएर दिने, जग्गा दिएपनि, लिएकाे व्यक्तिले जग्गा बेचेर फेरि अर्को वर्ष सुकुम्बासी बन्छ ।'
विभिन्न सरकारका पालामा सुकुम्बासीलाई जग्गा दिन आयोगहरू गठन गर्ने र खारेज गर्ने काम हुँदै आएको भन्दै उहाँले अब पनि पुरानै शैलीमा जग्गा वितरण गरेर सुकुम्बासी समस्या समाधान नहुने बताउनुभयाे । गौतमले सरकारले एकैपटक ठूलो रकमको बैंक ग्यारेन्टीमार्फत खेतीयोग्य सबै जमीन राज्यको स्वामित्वमा ल्याउनुपर्ने बताउनुभयाे । यसाे भयाे भने देश अबकाे दश वर्षमा समृद्ध हुने वामदेवले बताउनुभयाे ।
'व्यक्तिगत जमिनलाई सरकारले किन्ने अनि त्यसलाई लिजमा दिने र त्यो कहाँनेर कसरी उपयोग गर्ने भन्ने ठाउँमा हामी नजाँदासम्म हामीले जमिनको सदुपयोग गर्न पनि सक्दैनौं र हामीले भूमिहीन र सुकुम्बासी जन्माउने प्रक्रिया बन्द गर्न सक्दैनौ'- उहाँकाे भनाइ छ । आयाेग गठन र विघटन गरेर समस्या समाधान नहुने भन्दै उहाँले यसबारे बृहत छलफल गरेर समस्या समाधान गर्नुपर्ने बताउनुभयाे ।
