काठमाडाैं । राष्ट्रिय सभा सदस्य बिमला राई पौड्यालले गठबन्धनले तीनै तहमा समानान्तरण राजनीतिक संयन्त्र बनाउन लागेकाे विषयमा सरकारकाे ध्यानकर्षण गराउनु भएकाे छ ।
राष्ट्रिय सभाकाे विशेष समयमा बाेल्दै सांसद् राईले सरकार संयन्त्रले नभइ प्रधानमन्त्रीले सरकार चलाउने संसदीय व्यवस्था रहेकाे उहाँले प्रष्ट पार्नुभयाे । विमलाले भन्नुभयाे - 'केही दिनदेखि हल्ला चलिरहेको छ, हल्ला के छ भने गठबन्धनले फर्मल रूपमा संघमा, प्रदेशमा र स्थानीय तहमा राजनीतिक संयन्त्र बनाउँदै छ । समानान्तररूपमा चलाउने संयन्त्र बनाउँदै छ र यसले प्रधानमन्त्रीलाई निर्देशित गर्छ ।'
साे हल्ला सत्य भए एकदमै गलत कदम भएकाे विमलाले बताउनुभयाे । उहाँले प्रश्न गर्नुभयाे - 'प्रधानमन्त्री काेसँग जिम्मेवार हुने ? संसद्प्रति जवाफदेही हुने की राजनीतिक संयन्त्रप्रति जवाफदेही हुने ? गठबन्धनकाे संयन्त्रलाई संविधानले चिन्छ ? कहाँनिर चिन्छ ? के हाे त्यसकाे भूमिका ?' संसदीय व्यवस्थामा संसद्ले प्रधानमन्त्रीले छान्ने र सरकार चलाउने जिम्मा प्रधानमन्त्रीकाे हुने बताउँदै उहाँले भन्नुभयाे - 'मन्त्रिपरिषद्काे विस्तार पनि प्रधानमन्त्रीले गर्छन्, कसले काम गर्न सक्छ भनेर प्रधानमन्त्रीले टिम छान्छन्, प्रधानमन्त्री संसद्प्रति जिम्मेवार हुन्छ ।'
संसदीय पद्धतिलाई गिज्याउने हास्यास्पद काम नगर्न उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । विमलाले प्रश्न गर्नुभयाे - 'प्रधानमन्त्री छान्ने संसद्ले, प्रधानमन्त्रीकाे हात खुट्टा बाँधेर संयन्त्रले सरकार चलाउने ? त्यसाे हाे भने गठबन्धनका कतिजना हुनुहुन्छ सबैलाई प्रधानमन्त्री बनाऔं, यो संसदीय पद्धति कमजोर भयो भने लोकतन्त्र नै कमजोर हुन्छ, हामी सबैले दुःख पाउँछौं ।'
राजनीतिक संयन्त्रलाई संविधान र संसदीय व्यवस्थाले नचिन्ने बताउँदै उहाँले भन्नुभयाे - 'प्रधानमन्त्रीज्यूलाई म आग्रह गर्न चाहान्छु-हात खुट्टा बाँधिएर नबस्नुस्, प्रधानमन्त्रीलाई संसदले जे जिम्मेवारी दिएको त्यो गर्ने हो र जवाफदेहिता संसदप्रति हो गठबन्धनको कुनै नाममा बनेको संयन्त्रप्रति हुन सक्दैन, यो संयन्त्रलाई संविधानले चिन्दैन, संसदीय व्यवस्थाले चिन्दैन ।'
पहिलाकाे सरकारलाई अप्ठ्याराेमा पुर्याएकाे पनि यही संयन्त्रले भएकाे र अहिले पनि साेही संयन्त्रले अप्ठ्याराे पारेकाे उहाँले बताउनुभयाे । राजनीतिक संयन्त्रकै कारण मन्त्रिमण्ड विस्तार हुन नसकेको पनि पौड्यालले बताउनुभयाे । 'हामी यसमा क्लियर हौं-प्रधानमन्त्रीले सरकार चलाउने हो संयन्त्रले होइन, संयन्त्रले हातखुट्टा बाँधेर एक महिनासम्म मन्त्रिमण्ड विस्तार गर्न नसक्नु भनेको निर्लज्ता पनि हो, दुःखद पनि हो'- विमलाकाे भनाइ छ ।
पाँच पटक प्रधानमन्त्री बन्नुभएका शेरबहादुर देउवा यति कमजाेर किन हुनुभयाे भन्ने प्रश्न गर्दै विमलाले भन्नुभयाे -'शेरबहादुर देउवा पाँचाै चाेटी प्रधानमन्त्री बन्नुभएकाे छ, यति कमजाेर किन हुनुभयाे ?, सबैभन्दा ठूलाे पार्टी कहिले फुट्ला र त्याे फुटेपछि मेराे सरकारले कसरी टिक्ला भनेर मन्त्रिपरिषद्मा कहिले ज्वाइन गराउँला भनेर पर्खेर बस्ने प्रधानमन्त्री हाे हाम्राे देशले खाेजेकाे ? यति कमजाेर प्रधानमन्त्री ?' । शेरबहादुर देउवा कमजाेर हुनुभयाे भनेर चिन्ता नभएकाे भन्दै उहाँले चिन्ता संसदीय व्यवस्था कमजाेर भयाे भनेर भएकाे विमलाले बताउनुभयाे । संसदीय व्यवस्थालाई कमजाेर पार्ने काम नगर्न उहाँले सचेत पनि गराउनुभयाे ।
आफूले जितेकाे चुनाव चिन्ह छेउमा राखेर स्वतन्त्र सांसद्ले स्वतन्त्र सांसद्काे हैसियतले मत हालेर बनाएकाे प्रधानमन्त्री भएकाले शेरबहादुर देउवा निर्दलीय प्रधानमन्त्री भएकाे उहाँले बताउनुभयाे । स्वत्नत्र सांसद् भएपछि दलकाे ह्वीप नलाग्ने भएकाले मन्त्रिमण्डले पूर्णता पाउन नसकेकाे कुरा प्रष्टै भएकाे उहाँले बताउनुभयाे ।
