काठमाडाैं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले हरेक मन्त्री र सचिवका गाेप्य काेठमा सीसी क्यामरा राख्न सरकारलाई सुझाव दिनुभएकाे छ ।
आइतबार बसेकाे राष्ट्रिय सभाको बैठककाे विशेष समयमा बोल्दै सांसद् देवकोटाले संघ, प्रदेश र स्थानीय तहका कर्मचारीका कोठा-कोठामा पनि सीसी क्यामेरा राख्न सुझाव दिनुभयाे । सीसी क्यामेरा जाेड्न धेरै खर्च पनि नलाग्ने र धेरै कुरा राेक्ने दाबी पनि उहाँले गर्नुभयाे ।
उहाँले भन्नुभयाे - 'हरेक मन्त्रालयको मन्त्री र सचिवले भित्र गुप्त कोठामा बसेर गरेका काम कारबाहीको बारेमा कोठा बाहिर पनि देखिने गरी सीसी क्यामेरा राखियोस्, यसाे भयाे भने कर्मचारीका अनावश्यक भेटघाट रोकिने, कार्यालय समयमा आइपुग्ने, कार्यालय छोडेर एनजिओ-आइएनजिओका कार्यक्रम र अनावश्यक रूपमा रिबन काट्न जाने बानीमा सुधार आउने, विचौलियाहरूसँगको उठबस हट्ने र सामाजिक सञ्जालमा भुल्ने प्रवृत्ति हट्छ ।'
गुप्त कोठाबाट गरिने कामकारबाहीले शासकहरु अपारदर्शी भएको उहाँकाे भनाइ छ । शासन प्रणालीलाई पारदर्शी बनाएर जनतालाई राज्यले दिने सेवा र सुविधा पारदर्शी बनाउन सरकारलाई सुझाव दिनुभयाे ।
