काठमाडौं । संघीय संसद्का दुबै सदनकाे बैठक आज बस्दैछ ।
राष्ट्रिय सभाकाे बैठक बिहान ११ बजे र प्रतिनिधि सभाकाे बैठक दिउँसाे १ बजे बस्ने संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेकाे हाे । राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले 'सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७' लाई सभा समक्ष पेस गर्नुहुने कार्यसूची छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले 'खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ । प्रधानमन्त्री देउवाले नै विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको 'स्टाण्डर्ड नाप र तौल (पाचौँ संशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । प्रधानमन्त्री देउवाले नै 'स्टाण्डर्ड नाप र तौल (पाचौँ संशोधन) विधेयक, २०७८ लाई पारित गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
राष्ट्रिय सभा बैठकमाविधायन व्यवस्थापन समितिका माननीय सभापति परशुराम मेघी गुरुङले, “रेल्वे विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यसूची छ । गुरुङले नै 'प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६' सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नुहुने कार्यसूची छ ।
प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभाका सचिव गाेपालनाथ याेगीले राष्ट्रिय सभामा उत्पत्ति भएका दुई वटा विधेयक सम्बन्धी सन्देश टेबल गर्नुहुने सम्भावित कार्यसूची छ । आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
