काठमाडौं । राष्ट्रिय सभा सदस्य विमला घिमिरेले सरकारले ल्याएको खोप पनि नियमित रुपमा लगाउन नसकेको बताउनुभएको छ ।
मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उहाँले सरकारले व्यवस्थित रुपमा खोप चलाउन नसक्दा खोप केन्द्रहरुमा भिड बढेको बताउनुभयो । उहाँले शिक्षक तथा विद्यार्थीलाई तत्काल खोप लगाई परीक्षा सञ्चालन गर्न आग्रह गर्नुभयो ।
दार्चुलामा भारतीय सिमा सुरक्षा बलले तुइन काटेर नेपालीलाई महाकाली नदीमा बगाएको घटनाको विषयमा सरकारले भारत सरकारसँग कुरा नगरेर नेपालीको शिर निहुरिएको उहाँले बताउनुभयो । ‘अब आँखा जुधाएर कुरा गर्ने बेला भएन सरकार ?’ उहाँले भन्नुभयो ।
उहाँले अघिल्लो सरकारको पालामा भूमि व्यवस्था आयोगले गरेको कामलाई माटोमा मिलाउने काम अहिलेको सरकारले गर्न लागेको बताउनुभयो । फेरि नयाँ नियुक्ति गरेर काम अघि बढाउने हो भने चुनाव अगाडि भूमिहीनले जग्गाधनी पूर्जा नपाउने उहाँले ठोकुवा गर्नुभयो ।
संघीय सरकारको गतिविधि स्थानीय सरकार विरोधी भएको पनि उहाँले बताउनुभयो । संघीय सरकारको गतिविधिकै कारण स्थानीय सरकारले विज्ञप्तिनै निकाल्नु पर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
उहाँले सरकार भन्दा माथि राज्य सञ्चालन गर्ने संयन्त्र बनाएर सरकारले के गर्न खोजेको भन्दै प्रश्न गर्नुभयो ।
