काठमाडौं । राष्ट्रिय सभा सदस्य तुलसा दाहालले महोत्तरीको दशगजामा बस्न वाध्य भूमिहीन मुसहर समुदायको व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभएको छ ।
महोत्तरीको मनरा शिसवा नगरपालिकाको दशगजा क्षेत्रमा एक सय मुसहर परिवार र चमार तथा धानुक सहित १ सय ५० परिवार बस्दै आएको उहाँले बताउनुभयो । मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उहाँले उहाँहरुलाई घरबासको उचित व्यवस्था गर्न आग्रह गर्नुभयो ।
सिमान्तकृत दलित परिवार ३०४ नं को सिमा स्थम्भको आडमा टहरा बनाएर बसेका उहाँले बताउनुभयो । मुसहरसँगै बसेका धानुक र चमार समुदायको घडेरी भए पनि आर्थिक अभावले घर बनाउने क्षमता नभएको कारण मुसहरसँगै टहरा हालेर बसेका उहाँले बताउनुभयो ।
आफ्नो जग्गा भएका ३० घर मुसहरलाई केपी ओली नेतृत्वको सरकारले जनता आवास कार्यक्रम अन्तर्गत घर बनाउने काम सुरु गरेको भए पनि त्यो काम समेत पूरा भइनसकेको उहाँले बताउनुभयो । बाँकी १ सय २० घरको अझै घर बन्ने टुंगो नै नभएको उहाँले बताउनुभयो ।
जनता आवास कार्यक्रमले धानुक र चमारलाई नसमेटेको पनि उहाँले बताउनुभयो । उहाँहरुको लागि समेत आवासको व्यवस्था गर्न दाहालले माग गर्नुभयो ।
दशगजामा बसेका दलित समुदायलाई बारम्बार भारतीय सिमा सुरक्षा बलले दुःख दिने गरेको उहाँले बताउनुभयो । सिमा सुरक्षा बलले बारम्बार उहाँहरुका टहरा भत्काउने र भाँडाकुँडा फाल्ने काम गरेको उहाँले बताउनुभयो । ‘यस्ता गलत क्रियाकलाप रोक्न आवश्यक छ, यो सरकारको दायित्व हो’, उहाँले भन्नुभयो ।
जनता आवास कार्यक्रम अन्तर्गत बनाईएका दुई कोठे घर पनि जनसंख्याको हिसाबले एक परिवालाई साँघुरो भएकोले ती घरमा उनीहरु अटाउन सक्ने अवस्था नभएको उहाँले बताउनुभयो ।
