काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले नेपालको राजनीति केपी शर्मा ओलीकै वरिपरि घुमिरहेको बताउनुभएको छ ।
मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उहाँले राजनेता हुनको लागि राजनीति उसैको वरिपरि घुम्नु पर्ने बताउनुभयो । ‘त्यतिकै मान्छे राजनेता हुन सक्दैन, सडक, सदन सरकार यी तीनवटै ठाउँ उसका दृष्टिकोणले प्रभाव पार्नु पर्ने हुन्छ’, उहाँले भन्नुभयो ।
केपी शर्मा ओली बालुवाटार सिंहदरबार छाडेर गए पनि राजनीति उहाँकै वरिपरि घुमेको बताउनुभयो । सडकमा होस् वा सदनमा होस् केपीकै चर्चा हुने गरेको उहाँले बताउनुभयो । एउटा आशलाग्दो सरकार थियो जसलाई घेराबन्दीबाट ढालियो उहाँले भन्नुभयो ।
सरकार नबन्नुको पछाडि पनि केपी ओलीकै फोविया बाँकी रहेको उहाँले बताउनुभयो ।
केपी ओलीलाई सिधाबाटोबाट नहटाई झ्यालबाट हटाइएको कुरा सडकमा समेत चर्चा हुने गरेको उहाँले बताउनुभयो । उहाँलाई मुद्दा मामिलाबाट हटाइएको भट्टराईको भनाइ छ ।
जसबाट आशा गरिएको थियो उसलाई घेराबन्दीमा पारेर हटाइएको भट्राईको भनाइ छ । ‘सडक, सदन र सरकार, सबै ठाउँमा केपी ओलीको प्रभाव, यो हिसाबले देशले एउटा राजनेता जन्माएको छ, राजनेतालाई पराजित गर्न सम्भव छैन, फेरि पनि राजनेता फर्केर आउने छ’, उहाँले भन्नुभयो ।
केपी ओलीको निष्ठा माथि नै प्रहार गर्ने काम भएको उहाँले बताउनुभयो । केपी ओली लोकतन्त्रको लागि १४ वर्ष जेल बसेको उहाँले बताउनुभयो । लोकतान्त्रिक आन्दोलन र शान्ति प्रक्रियाको हरेक गतिविधिमा केपी ओलीको निर्णायक भूमिका रहेको उहाँले बताउनुभयो ।
