काठमाडाैं । नेकपा एमालेकी सचेतक शान्ता चाैधरीले सरकारका गतिविधिबारे कवितात्मक शैलीमा सरकारका गतिविधिकाे विराेध गर्नुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् चाैधरीले व्यंग्यात्मक कवितामार्फत सरकारका हर्कतबारे बाेल्नुभएकाे हाे । उहाँले याे सरकार हुनेखानेका लागि मात्र भएकाे बताउनुभयाे ।
यस्ताे छ शान्ताकाे कविता
दलाल पूँजीवादकाे नेतृत्व गर्ने सरकारसँग कुनै आस छैन
आलिशान महलमा तिम्राे वास छ
गरिबकाे गास खाेस
भूमिहीनकाे सपनामाथि आगाे झाेस
सीसाकाे महलबाट
भाेकाे पेट लिएर सडकमा छट्पटिएकालाई ढुंगा हान
संसद्लाई लात हान
गठबन्धनप्रति जवाफदेही बन
संविधान हामी चिन्दैनाैं, संसद् हामी जान्दैनाैं
हाम्राे एउटा गठबन्धन छ, त्यही गठबन्धनकाे एउटा उच्चस्तरीय संयन्त्र छ
संसद्ले भनेकाे मान्दैनाैं, उच्चस्तरीय संयन्त्रले भनेकाे मान्छाैं
भूमिसम्बन्धी समस्या समाधान आयाेग खारेज गरियाे
विजय गच्छदारलाई सामान्य धराैटीमा छाेडियाे
अब आफताव आलमलाई छाेडिन्छ, नियम कानुन ताेडिन्छ
सर्वसाधारण जनताकाे बारेमा के मतलव
काेराेनाकाे खाेप त हुनेखाने खाेजेर लगाइन्छ
हामी त परमादेशबाट बनेकाे सरकार पाे त कहाँ चान्चुने कहाँ हाेर
स्यावास् सरकार ! स्यावास् ! लाज लागे मुकुण्डाे किनेर ल्याउँला
अझै यस्तै हर्कत गर्दै गर सरकार
अझै यस्तै हर्कत गर्दै गर सरकार ।
