काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कसैले सानातिना गाली गलौज गरेर केही फरक नपर्ने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनुभएका ओलीले आफू माथि निक्कै प्रहार भएको बताउनुभयो । ‘नेपाली जनतालाई सुखी बनाउने उद्देश्य बोकेर हिँडेको मान्छेलाई यस्ता सानातिना गाली गलौजले खासै फरक पर्दैन, म आफ्नो उद्देश्यमा केन्द्रित छु’, उहाँले भन्नुभयो ।
सरकार परिवर्तनको विषय लोकतन्त्रमा सामान्य भए पनि असामान्य हिसाबले सरकार परिवर्तन गरिएको उहाँले बताउनुभयो । असामान्य ढंगले सरकार परिवर्तन गराएको कारण गठबन्धनका नेताहरु हौसिएको उहाँले बताउनुभयो ।
सरकार बनेको एक महिनासम्म केही पनि काम नभएको ओलीले बताउनुभयो । सरकार एक महिनासम्म बधाई खाँदै रमाइरहेको उहाँको भनाइ छ ।
