काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले फेरि पनि असाधारण जनतमतसाथ आफूले सरकारकाे नेतृत्व गर्ने बताउनु भएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै अध्यक्ष ओलीले भन्नुभयाे - 'मैले पहिले पनि भनेकाे थिएँ म झ्यालबाट हाेइन, जस्केलाबाट हाेइन,सिँढीबाट हाेइन,भेण्टिलेसनबाट हाेइन मूल ढाेकाबाट मूल गेटबाट आउँछु, फेरि पनि सुनिराख्नुभए हुन्छ असाधारण जनतमत साथ फेरि पनि मूल गेटबाट मूल ढाेकाबाट आउनेछु ।'
आफू देश र जनताकाे सेवाका लागि जन्मिएकाे भन्दै उहाँले काम गर्दै जाँदा प्रधानमन्त्री भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'म यो देश र देशका जनताको सेवाका निम्ति जन्मिएको ठान्छु, म प्रधानमन्त्री हुन जन्मिएको होइन, काम गर्दै जाँदा प्रधानमन्त्री भएँ, प्रधानमन्त्री त म ६४ वर्षसम्म थिएनँ, भइयो, फेरि पनि जालझेल गठबन्धनको संस्कृतिले हटाएको थियाे ।'
आफू जनताकाे जनमतबाट प्रधानमन्त्री भएकाे बताउनुभयाे । 'राम्रो ग्रहदशाले मलाई प्रधानमन्त्री बनाएको होइन, मेरा काम हेरेर मत दिएर नेपाली जनताले मलाई प्रधानमन्त्री बनाएकाे हाे, विभिन्न पार्टीका नेताहरुको महत्वकांक्षा, कुण्ठा र अहंकार आदिको समिश्रणबाट पनि प्रधानमन्त्री भएको होइन, म कुनै जाली मुद्दा जितेर प्रधानमन्त्री भएकाे थिइनँ, उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री पद आएको होइन, म परमादेशमा हाेइन जनादेशबाट प्रधानमन्त्री भएकाे हूँ'- उहाँले प्रष्ट पार्नुभयाे ।
प्रधानमन्त्री पदमा विश्वास गर्ने भन्दै उहाँले नेपाली जनताले आफूलाई सुम्पेकाे जिम्मेवारी पूरा गरेकाे बताउनुभयाे । उहाँले आफूलाई पवित्र, अनुचित र अलोकतान्त्रिक गठबन्धन गरेर हटाइएकाे उहाँले बताउनुभयाे ।
