काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका संयुक्त न्यूनतम साझा कार्यक्रममाथि प्रश्न उठाउनु भएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले सरकारका साझा कार्यक्रममा नेपाली कांग्रेकाे अनुहार कतै नदेखेकाे टिप्पणी गर्नुभयाे । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ लाई ‘सडकमा बाँडेको कागज’काे संज्ञा दिँदै उहाँले सदन चलेका बेला बाहिरबाट किन ल्याएकाे भन्दै प्रश्न गर्नुभयाे ।
आफू नेतृत्वकाे सरकारमा एमसीसी भनेर कराउनेहरुले सरकारका साझा कार्यक्रममा एमसीसी उल्लेख नगरेकाे भन्दै ओलीले प्रश्न गर्नुभयाे - 'केपी ओलीले कतै एमसीसी पास गर्नुपर्छ भनेकाे क्लिप खाेजेर वातावरण बनाउन खाेज्नुहुन्छ, गाली गर्ने अनि फेरि मेरै क्लिप बनाएर वातावरण बनाउन खाेज्ने ? तपाईंहरुकाे साझा कार्यक्रममा एमसीसी के गर्नुहुन्छ भन्नुपर्दैन ?'
यसबारे प्रधामन्त्री देउवालाई प्रश्न गर्दै ओलीले भन्नुभयाे - 'नेपाली जनताले जान्न चाहेको छ सम्माननीय प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ एमसीसी ? बहुत मजबुत प्रधानमन्त्री हुनुहुन्छ, १६५ सिट छ, भरर ताली बजाइदिँदा भइहाल्छ, कसैको मद्दत चाहिँदैन, त्यो १६५ को सबल जत्थाले के भन्छ ? पास गर्ने कि फेल गर्ने ? कि चुप लाग्ने ? त्यही भएर म भन्छु जस्केलाबाट छिर्ने काम नगर्नुस्,सरकारमा त छिर्नुभयाे भयाे सबै कुरामा जस्केलाबाट छिर्न खाेज्ने ?'
